धनुषा, ३० जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराउनुभयो ।
यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् । त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा ३० हजार ५४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस प्रदेशमा ४२८ क्वारेन्टिनमा १८ हजार ८९४, होम क्वारेन्टिनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।
१७ जनाले जिते कोरोना
सप्तरी– कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीबार घर फर्किएका छन् । भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीबार साँझ बिदा भएका हुन् ।
हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताउनुभयो । आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टिनमा गएको उहाँले बताउनुभयो । आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उहाँले जानकारी दिनुभयो ।
रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एकरएक तथा सुरुङ्गाको क्वारेन्टिनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टिनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।
उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो । अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा जितेन्द्र यादवले बिदाइ गर्नुभयो । (रासस)
प्रतिक्रिया