बुटवल, ३० जेठ । गत बैशाख २६ गते ९ वर्षीया बालिकालाई बलात्कार गरी यौनाङ्गमा कोदालोको बिँड हालेर घाइते बनाइएकी बालिकाको उपचारमा समस्या भएपछि प्रदेश ५ सरकारले उपचारको जिम्मा लिएको छ । पैसाको अभावका कारण उपचारमा समस्या भएपछि रुपन्देहीको तिलोत्तमा १० शान्तिनगरकी पीडित ९ वर्षीया बालबालिकाको उपचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गर्ने भएको हो ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बालिकाको उपचार गर्ने गरी मन्त्रालयले तयारी शुरु गरेको जानकारी दिनुभयो । बालिकाको अर्को शल्यक्रिया १५ असारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गर्ने तयारी भइरहेको छ । महाशाखा प्रमुख चौधरीले प्रदेश ५ मा सञ्चालित सुरक्षित आवास कार्यक्रम अन्तर्गतको रुपन्देहीका लागि पार्टनर गैरसकारी संस्था कदम नेपालले बालिकालाई संरक्षण दिएको बताउनु भयो । यसैगरी आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत प्रदेश नम्बर ५ का १२ जिल्लामा सुरक्षित आवास कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
जोखिममा रहेका महिला तथा बालिकाहरूको उद्धार र सुरक्षित तवरले उनीहरूलाई राख्नका लागि सुरक्षित आवास कार्यक्रमको उद्देश्य रहेको डा. चौधरीले बताउनु भयो ।
बालिकालाई २६ वैशाखमा सोही ठाउँका १४ वर्षीय बालकले आफ्नो घरमा लगेर जबरजस्ती करणी गरी यौनाङ्गमा कोदालोको बिंड हालेपछि बालिकाको अवस्था चिन्ताजनक भएको थियो ।
प्रतिक्रिया