कपिलवस्तु ३२ जेठ । कपिलवस्तुका स्थानीय तहका जनप्रतिनिधिले नयाँ नीति तथा कार्यक्रम निर्माणका लागि योजना सङ्कलन गर्न शुरु गरेका छन् ।खासगरी राजमार्गसंग जोडिएका पालिकहरुमा जेठको १५ देखि नै योजना संकलनका कामहरु अघि वढेका छन् । बाणगंगा, बुद्धभूमी ,शिवराज नगरपालिका र बिजय नगर गाउपालिकाले असार १५ भित्रै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेका छन् । वाणगंगा नगरका उप प्रमुख चक्रपाणी अर्यालले १० असारमा नीति तथा कार्यक्रम ल्याउने गरी लागेको प्रेसपाटीलाई वताउनु भयो ।
कोरोना पछिको अवस्थालाई विश्लेषण गरि नगरले विशेष योजनाका साथ नीति तथा कार्यक्रम ल्याउने उहाँले वताउनु भयो । बन्दाबन्दी समयमा योजना छनोटमा केही समस्या आए पनि सामाजिक दूरी कायम गरेर अहिले जिल्लाका स्थानीयतहले योजना निर्माणमा लागेका छन् । वाणगङ्गा नगरपालिकाले ११ वटै वडालाई असार २ गतेसम्म आफ्ना वडाका योजना छनोट गरी नगरपालिकासमक्ष पेश गर्न आग्रह गरेको छ । असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत र असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले बताउनुभयो । नगरका ११ वडालाई प्रतिवडा रु ५० लाख बजेटको व्यवस्था गरिएको छ ।यता अन्य पालिकामा पनि वडा सदस्यदेखि नगरप्रमुख जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न टोलटोलमा पुगेका छन् ।
कपिलवस्तु, शिवराज नगरपालिका–३ का वडा सदस्य श्यामलाल थारूले यस वर्ष बाँकी रहेका कामलाई निरन्तरतासँगै नयाँ योजना बनाउने तयारीमा लागेको बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि तेस्रो वर्षका लागि योजना बनाइरहँदा जनताका अधिंकाश आवश्यकतालाई पूरा गर्ने प्रयत्न गरिने उहाँको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडा सदस्यलाई जिम्मेवार बनाउन योजना निर्माण गर्न लगाएको बताउनुभयो । मैले पनि टोलटोलमा पुगेर यस वर्ष भएका कामको अनुगमन र नयाँ योजनाबारे स्थानीयवासीसँग छलफल गरेको सापकोटाले वताउनु भयो ।
यस्तै शिवराजका ११ वटै वडामा असार १ गतेसम्म योजना छनोट गर्ने काम पूरा गरिने तयारी छ । नगरप्रमुख नेत्रराज अधिकारीले अब कसैले पनि कामलाई ठूलोसानो नभनी मेहनत गर्ने समय भएको बताउनुभयो । अधिकारीले विगतका वर्षमा सडकलाई प्राथमिकता दियौँ, यस वर्ष रोजगारीका लागि प्राथमिकता दिइने वताउनु भयो । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले कृषि पेशालाई अब जीविकोपार्जन मात्र नगराई आम्दानीसँग जोडनुपर्ने बताउनुभयो । नगरका कृषकलाई सहज हुने तरिकाबाट आगामी योजना बन्ने निश्चित रहेको बताउँदै उहाँले अहिले वडाध्यक्षहरू टोलटोलमा पुगेर योजना छनोट गरिरहेको जानकारी दिनुभयो ।
विजयनगर गाउँपालिकाका जनप्रतिनिधि पनि अहिले योजना छनोटमा व्यस्त छन् । वडा नं ४ का वडाध्यक्ष तिलक कँडेलले गाउँस्तरबाट योजना निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो । युवालक्षित कार्यक्रममा विशेष जोड दिनु पर्ने गरि काम गरेको वताउनु भयो । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले महामारीका समयमा युवा बेरोजगार भएकाले सीपमूलक कामको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । महाराजगञ्ज नगरपालिकाले पनि नीति कार्यक्रम तय गर्न गृहकार्य शुरु गरेको छ । नगर प्रमुख अब्दुल कलाम खाँले कतिपय योजना वडामार्फत सञ्चालन हुने र कतिपय नगरमार्फत हुने बताउनुभयो । यस वर्ष कोरोनाका कारण भनेअनुसार काम हुन नसकेको बताउँदै खाँले आगामी योजनालाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया