अर्घाखाँची, २ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ पाली बलेघाँटकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरियाणाबाट परिवारसहित नेपाल आएकी उनीमा संक्रमण पुष्टि भएको हो । करिब तीन महिनाको गर्भवती रहेकी किशोरी पालीमा रहेको अर्बोका आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकी छन्।
पाली स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद घिमिरेका अनुसार उनी जेठ १० मा नेपाल आएकी हुन् । भारत बस्दा स्वास्थ्य जाँच गर्दा गर्भवती भएको रिपोर्ट आएको उनको पारिवारिक स्रोतले जनाएको छ । क्वारेन्टाइनमा पति–पत्नीलाई अलग्गै कोठामा राखिएको छ। उनका पतिको पिसिआर परीक्षणको लागि स्वाब पठाइने पाणिनी गाँउपालिकाकाले जनाएको छ । संक्रमित गर्भवतीलाई सदरमुकाम सन्धिखर्क आइसोलेसनमा लैजाने विषयमा छलफल भइरहको बताइएको छ ।
प्रतिक्रिया