अर्थ-वाणिज्य

बुटवल उपमहानगरद्वारा मध्यावधिको समीक्षा , शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा



बुटवल, ३ असार । बुटवल उपमहानगरपालिकाले पाँच वर्षे आवधिक योजना अन्तरगत भैरहेका कामको समीक्षा तथा उपलब्धि बारे जानकारी गराएको छ । उपमहानगरले पत्रकार सम्मेलन गरि हालसम्म गरेका कामहरुको विवरण सार्वजनिक गरेको हो । आवधिक, दीर्घकालीन र गौरवका आयोजनाहरु अगाडि बढाएको, कोभिड–१९ को महामारीका विरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्नुका साथै महामारीको यो अवधिसम्म भएका खर्चको समेत विवरण सार्वजनिक गरेको छ 

      अढाइ वर्षे मध्यावधि अवधिमा नगरभित्र भएका पूर्वाधार विकास, विकासे योजना, नगर गौरव, प्रदेश गौरव र राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको प्रगतिलागायतका विषयमा उपमहानगरले जानकारी गराएको छ । उपमहानरले पाँच वर्षे आवधिक र १५ वर्षे दीर्घकालीन विकास योजना, नगरको एकीकृत विकास गुरुयोजना समेत तयार पारेर तिनलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

           महामारीको बेलामा पनि बुटवलमा विकासे कामहरु सुरक्षा प्रवन्धसहित सुचारु रहेको र लकडाउनका बेलामा समेत स्वास्थ्य सुरक्षासहित दैनिक ज्यालादारीका कामलाई अगाडि बढाइएको प्रमुख सुवेदीले बताउनुभयो । सार्वजनिक कार्यक्रममा संरचना, सेवाप्रभाव, सहरी तथा पूर्वाधार विकास, शिक्षा, स्वस्थ्य, सीप, रोजगार, उद्यमशीलता, विपद् ब्यवस्थापन, खानेपानी, सरसफाई, वातावरण, कृषिको क्षेत्रमा उल्लेख्य काम भएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवलमा सडक तथा यातायाततर्फ कालिकापथ, श्रवणपथ आन्तरिक बाइपास, बुटवल चक्रपथ, ट्रान्सपोर्ट भिलेज, कच्ची सडकलाई ग्राभेल तथा पिचमा स्तरोन्नति र सुखौरा खोला व्यवस्थापन परियोजनाका काम अगाड बढिरहेका छन् । 

उपमहानगरमै हालसम्म श्रवणपथ, मिलनचोक, थकालीसमाज पुल, उजिरसिंह टोल पुल, सतगगढी खोला पुल, चन्द्रनगर, ताइवान टोललगायतका विभिन्न ११ स्थानमा पुल निर्माण भएका छन् । उपमहानगरले पर्यटनतर्फ जितगढी किल्लाको गुरुयोजना बनाएर काम गरिरहेको छ । जितगढीलाई राष्ट्रिय धरोहरका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।

                यसैगरि पर्यटनतर्फ बुटवलको महत्वपूर्ण सिमसारका रुपमा रहेको बैठौलिया कपरकट्टी ताल, नरेनापुर धाम, मिलनपार्क, रामापिथेकश पार्क, लक्ष्मीपार्कलगायतलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी पार्कहरुको गुरुयोजना नै बनाएर सोही अनुरुप काम भइरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो । बुटवलले हिलपार्कलाई बुद्धपार्कका रुपमा विकास गर्न लागिरहेको छ । 

यसका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजना अनुसार हिलपार्कमा बिसाल बुद्धको प्रतिमा निर्माण गर्ने र त्यहीँ ध्यान गर्न मिल्नेगरि ध्यान केन्द्र निर्माण गरिने छ । बुटवलले यसअवधिमा उपमहानगरको प्रशासनिक भवन, बसटर्मिनलमा बहुउद्देश्यीय सपिङ कम्प्लेक्स, पाँचवटा स्वास्थ्य चौकीका भवन निर्माण तथा संरचनाको स्तरोन्नति, १९ वटा विद्यालय भवन निर्माण गरेको जनाएको छ । यस्तै वडा नं.२, ५, १०, १४ र १५ मा वडा कार्यालय भवन निर्माण र भवन स्तरोन्नतिका काम सम्पन्न भएका छन्  भने वडा नं. ९, ११, १२ र १३ मा अहिले नयाँ भवन निर्माणको काम भइरहेको प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । 

                    खेलकुदतर्फ  सेमलार बहुउद्देश्यीय कभर्डहल, नरेनापुर क्रिकेट रंगशाला, उजिरसिंह जवई फुटवल रंगशाला (प्रदेश सरकारको सहकार्य), सिद्देश्वरीमा बहुउद्देश्यीय खेल मैदान, वडा नंं. १ र ११ मा कभर्डहल निर्माणका काम सम्पन्न भएको शर्माले उल्लेख गर्नुभयो । 

               कृषितर्फ उपमहानगरमा प्रदेश सरकारको सहकार्यमा बुटवल आधुनिक बधशाला निर्माणका लागि डीपीआर तयार भएको छ । अबको केही दिनमै शिलन्यासको तयारी भएको छ । यस्तै कन्द्र सरकारको सहकार्यमा सेमलारमा आधुनिक कृषि उपज केन्द्र निर्माण हुनेछ । 

                  यसको पनि डीपीआर तयार भइ निर्माणको काम सुरु हुने चरणमा पुगेको छ । यसैगरी एक वन बहुपोखरी निर्माण कार्यक्रम अन्तर्गत विभिन्न वनहरुमा पोखरी निर्माण भएका छन् । ग्रामिण विद्युतिकरण र उज्यालो सहर कार्यक्रम अन्तर्गत १९ वटा ट्रान्सफर्मर, सात हजार मिटर विद्युत लाईन विस्तार, सौर्यबत्ती जडान, उज्यालोसहितका प्रतिक्षालय निर्माणका काम सम्पन्न भएका छन् । 

                उपमहानगरले पहिलो वर्ष ऐन कानुनको निर्माण र संरचनागत विकासका काम अन्तर्गत ५० वटा कानुन निर्माण गरेको छ । नगरबाट न्यायिक अधिकारको कार्यान्वयन गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा गठन भएको न्यायिक समितिमार्फत इजलाशमार्फत न्यायसम्पादनका काम भइरहेका छन् । बुटवलमा वडा स्तरसम्मै मेलामिलापकर्ताहरु छनौट भएर विवादहरु मिलाउने कामको सहजिकरण गरिरहेका छन् ।

              सदभावयुक्त समतामुलक समाज बनाउने, मानवताको शहर, बेरोगार शून्य ईलमयुक्त बुटवललाई सबल आर्थिक केन्द्रको रूपमा विकास गर्नेमा बुटवल उदाहरणीय बनेको छ । बुटवलले सुरु गरेका मेयर युवा इलम कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रम मुलुकमै नमुना भएको उपमहानगरपालिकाले दावी गरेको छ । 

               बुटवलले फोहोरको बहुउपयोग गर्नेगरि शूल्य फोहरको अवधारणा अगाडि सारेको छ । अहिले फोहोरको ब्यवस्थापन, छाडाचौपायाको व्यवस्थापन, स्वच्छ खानेपानीको वितरणका कामलाई प्रभावकारी रुपमा सञ्चालन गरेको समेत नगरपालिकाले जनाएको छ । यसैगरी अब्यवस्थित बसोबासी र जग्गासंग सम्बन्धित समस्या समाधानका लागि कार्यदल बनाएर काम गरेको छ भने त्यस्ता जग्गाको नापजाँचको काम पनि सुरु गरेको उपमहानगरले जनाएको छ । 

          सार्वजनिक जग्गा जोगाउने, ट्राफिक ब्यवस्थापन, शहरी क्षेत्रमा हरियाली गर्ने, बैज्ञानिक तरिकाले घरको ब्यवस्थापन, नगर कुरुप बनाउने केबल र नेटको ब्यवस्थापन गर्ने विषयलाई उपमहानगरले चुनौतीका रुपमा लिएर तिनको पनि केही वर्षमै समाधान गर्ने योजना बनाएको बताएको उप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो । 

               यसैबीच पत्रकार सम्मेलनमा बुटवलमा बनाएको कोरोना अस्पताललाई मुलुकमै नमुना मानिएको नगरप्रमुख सुवेदीले दावी गर्नुभयो । सकारले यसलाई लेभल २ को उत्कृष्ट मान्यता दिएको समेत उहाँले बताउनुभयो । बुटवले कोरोना महामारीका विरुद्ध जनचेतना जगाउनेदेखि क्वारेन्टिन निर्माण, आइसोलेशन निर्माणका कामलाई प्रभावकारी बनाएको उहाँको भनाई छ । तामनगरमा क्वारेन्टिन र आइसोदेशन सेन्टर, बुटवलको योगिकुटीमा आइसोलेशन सेन्टर, सेमलारको नवरत्न स्कुल र कान्ति स्कुलमा क्वारेन्टिन निर्माण गरिएका छन् । 

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६