रौतहट ७ असार । रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै व्यापारीहरुले सडकमा अवरोध गरी आन्दोलनमा उत्रिएका हुन् ।
ईलाका प्रहरी कार्यालय विजयपुरबाट मात्र दुईसय मिटर टाढा रहेको पसलबाट गत राति चोरी भएको हो ।पीडित मुकेश साहका अनुसार क्वारेन्टिनको गेटमै रहेको पसलमा चोरी हुनु प्रहरीको चरम लापरबाही हो । अर्का ब्यापारी जयराम साहले ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साह आएदेखि नै अपराधिक घटनामा वृद्धि भएको आरोप लगाए ।
दुई सय मिटर टाढा घटनास्थलमा पुग्न प्रहरीलाई फोन गरेको ४५ मिनेट लाग्नु आफैमा प्रश्न उठ्ने बताए । क्वारेन्टिनको ड्युटीमा प्रहरी नै रहेकै कारण चोरिको घटना भएको अर्का ब्यापारी श्रीभगवान साहले बताए ।यो घटनाको छानबिन गरेर चोरलाई पक्राउ नगरेसम्म अवरुद्ध बाटो नखुल्ने बिजयपुरका ब्यापारीहरुले अडान गरेका छन् ।केही महिना अघि दुधिअवा प्रहरी चौकी छेउमै रहेको एक घरबाट रोटाभेटर सहित ट्रयाक्टर चोरी भएको थियोे ।
चोरी भएको रोटाभेटर बरामद भएपनि हालसम्म ट्रयाक्टर बरामद हुनसकेको छैन ।यता, इन्सपेक्टर चन्द्रकिशोर साहले भने आफू यो कार्यालयमा आएदेखि अपराधिक घटनामा कमी आएको दाबी गरे । उनले चोर पत्ता लगाउन प्रहरी नजिक पुगिसकेको बताउँदै पूर्वाग्रह राखेर प्रहरीलाई बदनाम गर्न खोजिएको जिकिर गरे ।
प्रतिक्रिया