अर्थ-वाणिज्य

प्रदेश ५को स्थायी राजधानी बुटवल बनाउने उपमहानगरको नीति र कार्यक्रम



रुपन्देही ९ असार । प्रदेश ५को स्थायी राजधानी बुटवल बनाउने अवधारणा सहितको बुटवल उपमहानगरपालिका बुटवलको  नीति  र कार्यक्रम सार्वजनिक भएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले यो अवधारणा अगाडी ल्याएका हुन् ।उनले महानगरको रुपमा फराकिलो अवधारणाकासाथ प्रदेश ५ कै स्थायी राजधानी बुटवल हुनेगरी  समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउनका लागि बृहत बुटवल प्रदेश राजधानीको सोचबाट अगाडी बढ्न जरुरी रहेको बताए ।

        प्रमुख शिवराज सुवेदीले बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राखिएको जनाए । ‘जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट हामी अगाडि बढ्ने प्रयास गरेका छौं, नागरिकको जीवन रक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यहि नै हो’, बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ।

    बृहत बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाकासाथ छिमेकी पालिकाहरुसंग समन्वयात्मक रुपमा विकास प्रकृया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।  राजधानीको हैसियत बोकेको बृहत बुटवलले स्थानीय नागरिकहरुको आकांक्षा संबोधन गरेर मात्र पुग्दैन, बरु यसक्षेत्रका समग्र बासिन्दाहरुको समस्या समाधानको नेतृत्व समेत गर्नु पर्ने थप जिम्मेवारी बोध गराएको बुटवलको ठहर छ । बुटवलले लिएका नीति तथा कार्यक्रमले बुटवललाई ५ नं। प्रदेशको स्थायी राजधानी घोषणा गर्न थप टेवा दिने विश्वास लिएको नीति कार्यक्रममा उल्लेख छ ।

        कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने, चालु आ।ब। का अधुरा बार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने । दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गरिने भएको छ । सामाजिक, आर्थिक, र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, अन्तर सरकारी वित्त व्यस्थापन ऐनलगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिदै असल शासन प्रबद्र्धन गरी स्थानीय सेवा प्रवाह प्रभावकारी बनाइने भएको छ ।

        बुटवल उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजनाले लक्ष्य गरे अनुसारका कार्यक्रमहरु क्रमशः कार्यान्वयनमा ल्याइने भएको छ । पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने र वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भइ आएका योजनाहरुको प्रोजेक्ट बैंक बनाई संघ तथा प्रदेश सरकार एबम् अन्य संघसस्था संगको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने भएको छ । अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेशको अस्थायी मुकाम, दुई मुख्य राजमार्गको संगम स्थल र मुलुकको प्रमुख व्यापारिक नाका भएकाले पनि बुटवलमा जनघनत्व र ट्राफिक जाम अन्यत्रभन्दा धेरै छ । यसैले बुटवलमा अब निर्माण हुने कुनै पनि भवनको पार्किङलाइ अनिवार्य गरिएको छ ।

        मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा अन्डरग्राउण्ड पार्किङसहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइने भएको छ । “हाम्रो सडक–हाम्रो सहभागिता, स्तरीय सडक–हाम्रो प्रतिबद्धता” अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइने र स्तरीय सडक निर्माणमा जोड दिइने भएको छ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख छ । “हाम्रो बुटवल, सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्ध सहितको तिनाउ करीडोर निर्माण गर्न संघीय सरकारसँग समन्वय एवम सहजिकरण गरिने भएको छ । यस्तै मोतिपूर र सेमलार क्षेत्रमा स्याटेलाईट सहरको विकासका निम्ती आवश्यक अध्ययन कार्य अघि बढाईनेछ ।

        बुटवलको हरियाली क्षेत्र ५३ प्रतिशत भन्दा माथि छ । यो मुलुकका कुनै पनि उपमहानगरको भन्दा धेरै हो । यसलाई अझ विस्तार गरेर हरित नगर बुटवलको नारालाई सार्थक बनाइने भएको छ । यसका लागि सडक किनाराहरु, विद्यालय परिसर, सिंचाई नहरका किनार लगायतका सम्भाव्य स्थानहरुमा फलफुलका विरुवा वृक्षारोपण गरिने, उक्त कार्यका लागि टोल विकास संस्थाहरुलाई सक्रिय बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६