अर्थ-वाणिज्य

प्राविधिक जनशक्ति नआउँदा विमानस्थल निर्माणमा ढिलाई



भैरहवा, ९ असार । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाई भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको हो ।

          विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावनमार्गको लाईट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेएर बेल्ट मुख्य रुपमा आउन बाँकी उपकरण हुन् । आउन बाँकी उपकरण चीनबाट अझै ढुवानी हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

          “अहिले चीनमा उपकरण प्याकिङ गर्ने र बैंकिङ कागजात मिलाउने प्रयास भइरहेको छ, त्यो सकिएपछि उपकरण नेपाल आइपुग्न सडक मार्ग हुँदै कम्तीमा एकदेखि डेढ महिना लाग्छ”–उनले भने । अरु उपकरणहरु ९५ प्रतिशत आइसकेका छन् । लाईट फिक्स्चर जस्ता उपकरण नेपाली प्राविधिकहरुले जडान गर्न सकेता पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनुृ पर्छ ।

        “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार र उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुद्रिक मार्ग खुल्ला हुनु जरुरी छ”–आयोजना प्रमुख अधिकारीले भन्नभुयो । 

          आउन बाँकी उपकरण आएपछि जडानको कामका लागि कम्तीमा पनि साढे दुईदेखि तीन महिना लाग्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । उपकरणसँगै ३० देखि ४५ जनासम्म प्राविधिक जनशक्ति चीनबाट आउनुपर्ने र अन्तर्राष्ट्रिय उडान नहुँदा पनि जनशक्ति आउन समस्या भएको उनले बताए । विमानस्थलमा अहिले नेपाली र चिनियाँ गरी पौने तीनसय कामदारले काम गरिरहेका छन् ।

          लकडाउन भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई दुई महिनादेखि निरन्तरता दिएको छ ।

          नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै १० किलोमिटर पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भैसकेको आयोजना प्रमुख अधिकारीले बताए । धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवन लगायत ९० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद पाएको थियो । त्यसपछि म्याद थपिएको छैन । म्याद थपबारे कन्सल्टेन्टले अध्ययन गरिरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

          चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुईसय २७ रुपियाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअद्धि चारपटक म्याद थपिसकेको छ । एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भैरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुने छ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भैरहेको छ ।

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६