कास्की, १० असार । गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ७ सय २९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माका अनुसार थप ३२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, यस्तै गोरखामा १, नवलपुरमा ३, बाग्लुङमा ९ र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वालिङ नगरपालिकामा ३० महिनाको बालिकासहित ५ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण भएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेशीशहर नगरपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङका बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा पनि २ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मादी गाउँपालिकाका एक महिला र १ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको । नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिका, तनहुँको देवघाट गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितहरुलाई विभिन्न जिल्लाहरुका आइसोलेसनमा लैजाने बताइएको छ ।
प्रतिक्रिया