बुटवल १० असार । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको जानककारी दिए । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
यता अर्घाखाँचीमा १० महिने बालिका सहित ४८ जना डिस्चार्ज भएका छन् । जिल्लाको शितगंगा नगरपालिकामा १० महिने बालिका सहित १५ जना, सन्धिखर्क नगरपालीकामा २९ जना, पाणिनी गाँउपालीकामा ३ जना र छत्रदेव गाँउपालीकामा १ जना गरि ४८ जनाले कोरोना जितेर घर फर्किएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा मगरले जानकारी दिनु भयो ।
यसैविच प्रदेश ५ मा २ वटा पीसीआर मेसिन थपिएका छन् । प्रदेश प्रयोगशाला भैरहवा र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एक–एकवटा मेसिन थपिएका हुन् । हाल प्रदेशमा दैनिक ३ सय नमुना परीक्षण हुँदै आएकामा मेसिन थपिएसँगै ५ सय नमुना परीक्षण हुने बताइएको छ । दुवै मेसिनले आइतबारदेखि पूर्ण परीक्षण सुरु गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले वताउनु भयो । प्रदेश प्रयोगशालाका लागि यूएनडिपीले मेसिन सहयोग गरेको हो ।
त्यस्तै लुम्बिनी अस्पतालमा प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट किनिएको हो । अर्को सातासम्म दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ पीसीआर मेसिन जडान हुने उहाँले वताउनु भयो । प्रदेशमा हाल ३ वटा प्रयोगशाला छन् । रूपन्देही, दाङ र बाँकेमा रहेका ती प्रयोगशालाले दैनिक एक एक सयवटाका दरले स्वाब नमुना परीक्षण गर्न सक्छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले परिक्षणको दायरा वढाउन र ढिलो रिपोर्ट आउने समस्या हटाउन पीसीआर मेसिन जडान गरिएको वताउनु भयो । प्रदेशका प्रयोगशालामा ८ हजार ६ सय ५४ वटा स्वाब नमुना थुप्रिएका छन् ।
प्रतिक्रिया