बुटवल, १३ असार । दुवै मृगौला फेल भएका गुल्मी चन्द्रकोट गाउँपालिका ७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जीवन बचाई दिन आग्रह गर्नु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहँदा उहाँले शरिरको दुखाई कम गर्ने औषधी सेवन गर्नुभएको थियो । दुखाई कम गर्ने औषधीकै कारण उहाँको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता विकले सुनाउनुभयो ।
विकको हप्तामा ३ पटक डायलोसिस गर्नुपर्छ । २ वर्ष अघिदेखि नियमित रुपमा डायलोसिस गरिएको छ । पैसाको अभावमा किड्नी फेर्न सकिएन । उहाँले गुनासो सुनाउनुभयो –किड्नी फेर्न सपनै भयो, घरमा खानेकुरा किन्न समेत पैसा छैन ।’ श्रीमानको औषधीको लागि अहिलेसम्म २५ लाखभन्दा वढी खर्च भएको उहाँले बताउनुभयो ।
मृगौलाको उपचार गर्दा घरखेत नै जाने अवस्थामा पुगेको विक परिवारले बताएका छन । विक दम्पत्ति उपचारकै लागि बुटवल–११ देवीनगरमा कोठा भाडामा लिएर बसेका छन । ६ वर्षकी छोरी समेत रहेका ति दम्पतिले घरमा खानेकुरा नभएको गुनासो गरेपछि बुटवलका युवा समाजसेवी हरि क्षेत्रीले एक महिनाको लागि पुग्ने खाद्यान्न घर पु¥याई दिनुभएको थियो ।
उहाँले औषधीको लागि ४ हजार ५ सय रुपैया नगद समेत सहयोग गरेको बताउनुभयो । राहत वितरणकै क्रममा मृगौला पीडितलाई भेटेको उहाँले बताउनुभयो । मृगौला पीडित लालबहादुरले औषधीको लागि समेत पैसा नहुँदा पिडा सहेर वस्नु परेको वाध्यता सुनाउनुभयो । विकको उपचारमा सघाउ गर्न विभिन्न ब्यक्ति तथा संघ संस्थाले आग्रह गरेका छन् ।
प्रतिक्रिया