गण्डकी

गर्भवती बोक्नका लागि छुट्टै एम्बुलेन्स



चितवन, १४ असार । भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभावमा अस्पताल सम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गर्नुभएको थियो ।

        आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ । प्रमुख भए लगत्तै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै उहाँले केन्द्रीयस्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताउनुभयो । गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । दाहालले थप्नुभयो, “चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार गर्ने यस अस्पतालको बिकासका लागि जस्तो सुकै सहयोग गर्न महानगर तयार छ ।” प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पतालको रुपमा परिचित यस अस्पतालमा वर्षमा १४ हजार हाराहारी गर्भवतीले बच्चा जन्माउँछन् ।

        अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले महानगरपालिकाले विभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने बताउनुभयो । महानगरले दिएको एम्बुलेन्समा गर्भवती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले महानगर प्रमुख अस्पतालको विकास समितिमा हुने भएकाले अस्पताललाई आवश्यक पर्दा सहयोग माग्ने ठाउँ महानगर बनेको बताउनुभयो ।

        महानगरले अस्पतालमा सङ्कलन भएका बेवारिसे शव व्यवस्थापनमा पनि सहयोग गर्दै आएको तिवारीको भनाइ छ । महानगरमा प्रमुख र उपप्रमुख दुवै जना महिला भएकाले उहाँहरुको ध्यान महिलाको उपचारमा बढी केन्द्रित हुने गरेको छ । प्रसूति उपचारमा भरतपुर अस्पताल उत्कृष्ट भएको भन्दै तिवारीले एम्बुलेन्स आएपछि बिरामीलाई थप लाभ पुग्ने बताउनुभयो । (रासस)

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६