प्रदेश

आज हरिशयनी एकादशी, यस्तो छ शास्त्रीय मान्यता



कपिलवस्तु, १७ असार ।  आसार शुक्ल एकादशी आजका दिन बुधबार घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी हिन्दू धर्मालम्बीहरुले मनाउँदै छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजको दिन दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास रही आएको छ ।

        वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको पण्डितहरु बताउँछन् । हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य मानिन्छ । जसका घर आँगनमा तुलसीको मोठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहने धार्मिक विश्वास रहेको छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने लगायतका शास्त्रीय मान्यताहरु रहेका छन् ।

        हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुनुहुने शास्त्रीय मान्यता रहेको छ ।चतुर्मास अवधिमा श्रीविष्णु (हरि) भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।

        हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

        विगतका वर्षहरुमा हरिशयनी एकादशीका अवसरमा  फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि यस पटक भने कोरोना भाइरसका कारण मठ मन्दिरहरु बन्द रहेकाले मन्दिरहरुमा दर्शनार्थीको भीड लाग्ने छैन ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६