एजेन्सी, १७ असार । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन संकटपूर्ण हुने चेतावनी दिएक छन् ।
अमेरिकामा मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ । कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भनेका छन् हामीले सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा शंका गर्नुपर्ने ठाउँ नै छैन ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ पुगेको छ ।
प्रतिक्रिया