रुपन्देही २० असार ।उत्पादक किसानले पाउने मुनाफा न्यून र बिचौलियाको उच्च हुने गरि बजारमा अहिले कुखुराको मासु र अण्डाको मूल्यमा अचाक्ली वृद्धि भएको छ। लकडाउनका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्री नभएर नष्ट गरेको अवस्थामा बजार भने, मासुको मुल्य नियन्त्रण बाहिर छ।जसलाई मासु व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप नगरेर खुला छाडिदिएको छ।
जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्।रुपन्देहीको बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४५० रुपैयाँभन्दा माथि छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो। किसानसँगबाट मासु बिक्रेताले २७० मा कुखुरा किनेर उपभोक्तालाई ४५० रुपैयाँभन्दा बढीमा बेचिरहेका छन्। ठाउँ अनुसार मूल्यमा मनपरी छ।
लकडाउन सुरु हुनु पूर्व कुखुराको मासुको मूल्य एककिलोको २८० रुपैयाँ थियो। अण्डाको मूल्यमा पनि त्यस्तै मनपरी छ। अण्डा प्रतिक्यारेट २४० बाट बढेर ३ सय पुगेको छ। कतिपय व्यवसायीले ३४०–३५० सम्म लिइरहेको उपभोक्ताको गुनासो छ।मासु व्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले लकडाउनले बजारलाई नियन्त्रण गर्न नसक्दा मूल्यमा एकरुपता कायम गर्न नसकेको बताए। उनले भने,–‘लकडाउनले गर्दा समितिको बैठक पनि बस्न सकेन। बजारमा कुखुरा अभाव भयो।
जसले गर्दा उत्पादनका आधारमा व्यवसायीहरुलाई खरिद बिक्री गर्न आग्रह गर्नुपर्यो।’पौडेलले थपे,–‘लकडाउनले गर्दा किसानले चल्ला हालेनन्। जसले गर्दा बजारमा अहिले कुखुरा अभाव छ। अब हामी बजारलाई नियन्त्रण गर्दैछौ। प्रमुख जिल्ला अधिकारीले बोलाउनु भएको छ। बजारमा बिक्री मूल्य भन्दा कम राखेर मूल्यमा एकरुपता ल्याउछौ।’खसी र माछाको मूल्यमा भने त्यति धेरै वृद्धि भएको देखिँदैन। अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ छ। माछाको मूल्य जात अनुसार फरक फरक हुन्छ।
रुपन्देहीमा मात्रै मासु व्यवसायी २ हजार ८ सय भन्दा बढी छन्। जिल्लामा सामान्य अवस्थामा दैनिक ३५ टन कुखुराको मासु खपत हुने गरेको छ। खसीको दैनिक १५ टन खपत हुने मासु व्यवसायी संघको तथ्यांकमा उल्लेख छ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उपभोक्ताबाट मूल्य बढी गुनासो आएकोले आफूहरु बजार अनुगमनको तयारीमा रहेको बताए। उनले भने,–‘कसरी अचानक यति धेरै मूल्य बढ्यो हामी पनि अनुगमनको तयारीमा थियौं। उपभोक्ताबाट पनि हामीलाई सचेत गराउन जानकारी आयो। एक दुई दिनभित्र मासुको मुल्य र गुणस्तरको बारेमा बजार अनुगमन गर्ने तयारीमा छौं।’
कोरोना भाइरसको संक्रमणको त्रासका कारण बन्द भएका पसलहरु खुलेर व्यवसायीले व्यापार गर्न थालेपछि किसानको उत्पादन बिक्री त भएको छ। तर व्यवसायीले जसरी किसानले मनपरी गर्न सकेका छैनन्।मनिका एकीकृत कृषि फर्म छपियाका सञ्चालक कृष्ण बस्नेतले लकडाउनले गर्दा कुखुरा किसानले ठूलो नोक्सान बेहोर्नु परेको बताए । उनले भने,–‘५० दिनमा बिक्री गनुपर्ने कुखुरा ८६ दिन पालेर प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्नुपर्यो। मलाई ९ लाख रुपैयाँ घाटा लाग्यो।
अब बल्ल चल्ला हाल्दैछु।’मासु व्यसायीहरुले अहिले किसानसँगबाट प्रतिकेजी २७० रुपैयाँमा जिउँदो कुखुरा उठाएको बस्नेतले बताए। बस्नेतले थपे,–‘मैले अहिले ३ हजार चल्ला हालेको छु। यी चल्लाले पनि राम्रो मुल्य पाएनन् भने पलायन हुनुपर्ने अवस्था आउछ।’ रुपन्देहीमा अहिले १ हजार व्यवसायिक कुखुरा पालक किसान छन्। पछिल्लो समयमा मासुमा मुलुक आत्मनिर्भर हुँदै गएको छ।
प्रतिक्रिया