काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज निर्णायक वार्ता हुने बताइएको छ । नेकपा गठनको २ वर्ष नपुग्दै फुटको संघारमा पुगेको विश्लेषण गरिरहेको बखत हुन लागेको बार्तालाई विशेष रुपमा हेरिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले फुटका अवस्थामा पुगेको नेकपालाई फुटबाट जोगाउने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो ।
आज हुने भनिएको निर्णायक वार्तामा तेस्रो तथा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
शीर्ष नेताहरू विवाद मिलाउन शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आ–आफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिईसकेको अवस्था रहेको छ । नेकपाको स्थायी कमिटीका ४४ सदस्यमध्ये कम्तीमा ३० जना प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन्।
यसअघि ओली र दाहालबीच शुक्रबार साढे तीन घन्टा भएको छलफलमा दुबै जना आआफ्नो अडानमा कायम रहेकाले वार्ता निर्णायक हुन सकेन् । आज बिहान १० बजेका लागि तय भएको बैठकले यसबारे निकास नदिए पार्टी विभाजनको चरणसम्म पुग्न सक्ने आँकलन गरिएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिएका छन् भने दाहालले दुईमध्ये एक पद छाड्नै पर्ने दबाब दिएका छन् ।
ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी चलाउने उल्लेख छ ।
प्रतिक्रिया