जनकपुरधाम २२ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।गत शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि एक किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन्।
आँपको प्रलोभन देखाएर करणी
सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डस्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए । उनी काम गर्ने इन्डस्ट्रिजमा बालिका गत असार १८ गते आँप टिप्न पुगेकी थिइन् ।सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डस्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर बालिकालाई करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्यापछि सिंहले बालिकालाई ब्ल्याङ्केटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्याङ्केट ५० फिटको दुरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाई आइतबार पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया