कपिलवस्तु, २२ असार
नेकपामा बढ्दो राजनितिक घटनाक्रम र त्यसले निम्त्याएको पार्टी धु्रविकरणलाई रोक्न कपिलवस्तुमा नेकपाका युवा तथा विद्यार्थीहरुले पार्टी एकजुट बनाइराख्न दबाब दिएका छन् । कपिलवस्तुको तौलिहवा स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा पुगेका युवा, विद्यार्थी तथा पार्टी कार्यकर्ताहरुले पार्टीमा उत्पन्न अन्तरविरोध हल गर्न र पार्टीलाई एकढिक्का बनाएर लैजान नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टी एकता जिन्दाबाद, संस्थागत निर्णय लागू गर, पार्टी थप मजबुत गर, पार्टीलाई निति प्रधान बनाउ नेता प्रधान होइन लगायतका व्यानर लिएर १ सयको हाराहारीमा नेकपा कार्यकर्ताहरु दबाब कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुले पार्टी अध्यक्षलाई सम्बोधन गरि जिल्ला कमिटिलाई पार्टी फुट बाट रोक्न र पार्टीको संस्थागत निर्णय पालना गर्दै अनुशासनहिन रुपमा विभिन्न सामाजिक संजालहरुमा नेतृत्वको चरित्र हत्या गर्ने कार्यकर्ता तथा जिल्ला नेताहरुलाई समेत अनुशासनको कारवाहीको माग गरिएको छ ।
दबाब कार्यक्रममा नेकपा जिल्ला सदस्य शिवलाल बन्जाडे, सर्वेन्द्रदेव खनाल, युवाका जिल्ला संयोजक विशालजंग कुवरँ, विद्यार्थी नेता शुशिल पौडेल, दयाराम पौडेल, नेत्र पाण्डे लगायतले पार्टी र नेत्रत्व एक ढिक्का भएर देश र जनताको सम्वृद्धि तर्फ लाग्न आग्रह गरेका थिए । जिल्ला कार्यालय सचिव धर्मराज भुसालले कार्यकर्ताको उक्त माग सहितको ज्ञापनपत्र सम्बन्धित निकायहरुमा पठाउने बताउनुभयो ।
२२ असार २०७७, सोमबार
प्रतिक्रिया