लुम्बिनी

दाङमा रैथाने बाली संरक्षण गर्दै कृषि सहकारी



दाङ, २३ असार ।  दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ ।  जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो । परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउनुहुन्छ ।  घोराही उपमहानगरपालिका– २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा विसं २०६४ देखि स्थानीय जातको बीउ सङ्कलन र संरक्षण गर्दै आएको छ ।

        जिल्लाका धेरै स्थानको अध्ययनपछि उपयुक्त स्थानका रुपमा रामपुरलाई छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राममणि पाण्डेलले जानकारी दिनुभयो । लिबर्डले करीब ६ वर्ष यही कार्यक्रमका लागि सहयोग गरेको स्थानीयवासीले बताएका छन् । लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी पाएपछि स्थानीयवासीको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डेले बताउनुभयो । “संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीयवासीको लोपोन्मुख जातका बालीप्रति आकर्षण बढेको हो, यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरुले पनि विश्वास गरेर खेती गर्न थालेका छन्”,  संस्थापक अध्यक्ष पाण्डेले भन्नुभयो ।

        अहिले स्थानीयस्तरमा पाइने बाली सङ्कलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले जानकारी दिनुभयो । यसै गरेर स्थानीय बाली उत्पादन गरेर बजारसम्म पु¥याइने गरेको पाण्डेको भनाई छ । 

        संस्थाले दाङ जिल्ला तिल्की धानका लागि प्रख्यात रहेकाले यसको संरक्षणसँगै विस्तार पनि गर्न थालेको छ । संस्थाले तिल्कीका विभिन्न जातलाई मिलाएर एउटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । पछिल्लो समयमा तिल्की धान लगाउनेहरु पनि बढेका छन् । उत्पादित धानको बीउ बजारसम्म पठाइने गरेको छ । 

        रामपुरको जैविक विविधता कृषि सहकारी संस्थाले जिल्लामा पाइने लोपोन्मुख बालीको संरक्षण गर्दै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताउनुभयो । “पुराना लोप हुन लागेका बालीहरुको संरक्षण गर्ने काम भएको छ, संस्थाले धान, गहुँ, मकै, तोरी तथा तरकारीका बाली संरक्षण गर्ने काम गरेको छ”, पोख्रेलले भन्नुभयो । संस्थाले बालीको मूल बीउ संरक्षणका साथसाथै कृषकलाई आवश्यक परेमा बीउसमेत उपलब्ध गराउने गरेको छ । 

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६