ललितपुर, २३ असार । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । केही दिन यता उपत्यकामा कोरोना महामारीको जोखिम बढ्दै गएपछि गुठी संस्थान ललितपुरको निर्देशनमा बुधबार हुने भनिएको रथारोहण स्थगित गर्ने निर्णय गरिएको हो । तर सरकारले भने काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९) समुदायमा नफैलिएको दाबी गरेको छ । देशव्यापी बन्दाबन्दीले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको रथयात्राका लागि रथ निर्माणको काम असार १० गते देखि सुरु गरिएको भए पनि मंगलबार संस्थानले स्थगित गर्ने निर्णय गरेको हो ।
लिच्छवीकालमा नरेन्द्र देवको पालादेखि निरन्तर चल्दै आएको भनिएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । पद्यपाणी लोकेश्वरको रुपमा पनि पूजिने मच्छिन्द्र नाथलाई नरेन्द्रदेव, ललित ज्यापु र बन्धुदत आचार्यले उपत्यका भित्रयाएका थिए । दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानु पर्ने धार्मिक मान्यता रहेको छ ।
प्रतिक्रिया