सुर्खेत, २५ असार । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको पिसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुई÷दुई जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीन जनामा सङ्क्रमण देखिएको छ ।
विभिन्न जिल्ला गरेर बुधबार २० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यद्यपि सङ्क्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो ।
त्यसैगरी कोरोना सङ्क्रमण निको भएर घर फर्कने सङ्ख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
प्रदेश अस्पतालका चिकित्सकमा सङ्क्रमण
प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टिनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया