अर्थ-वाणिज्य

समाचार प्रभाव : धान रोपेपछि सडक पीच गर्ने सहमति



रुपन्देही २५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. १३ र १४ अन्तर्गत पर्ने पत्थरडाँडा तिनाउ सडक वर्षाका कारण हिलाम्मे भएपछि स्थानीय जनताले सडकमै रोपाई गरेका छन । स्थानीयले विहिवार विहानै सडकमै रोपाई गरेपछि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरुको उपस्थितीमा समयमै सडक पीच गर्ने सहमति भएको छ । सडकमा धान रोपिएको तस्विरहरु विभिन्न सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदेश ५ का सांसद तुलसी चौधरी, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरुले सडककको अनुगमन गरेका थिए ।

            अनुगमनपछि स्थानीयहरुसँग छलफल गरी सडक निर्माणको जिम्मा पाएको इन्द्रधनुष निर्माण सेवाका प्रतिनिधिलाई तत्काल काम सुरु गर्न निर्देशन दिइएको वडा नम्बर १३ का अध्यक्ष गणेश न्यौपानेले बताउनु भयो । विश्वव्यापी कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाई भएको स्वीकार गर्दै अध्यक्ष न्यौपानेले काम हुँदाहुँदै पनि विरोधका लागि विरोध स्वरुप सडकमा रोपाई गरिएको आरोप लगाउनु भयो । यो सडक हुँदै विभिन्न उद्योगहरुमा कच्चा पदार्थ पु¥याउने टिप्परहरु दैनिक रुपमा सञ्चालन हुँदा सडकको अवस्था थप नाजुक बनेको हो । यसैगरी निर्माण कम्पनी इन्द्रधनुषका प्रतिनिधि देवचन्द्र घिमिरेले भने स्थानीय र नगरपालिका बीचको विवाद तथा लकडाउनका कारण समयका काम सम्पन्न गर्न नसकिएको बताउनु भयो । 

        ‘यही असार मसान्तमा सक्नेगरी गत माघ २६ गते निर्माणको सम्झौता भएको उक्त सडक नगरपालिकाको ५२ फिट चौडाईको मापदण्डमा सडक बनाउने कुरामा स्थानीयहरुसँग कुरो नमिल्दा विवाद उत्पन्न भएको थियो । लकडाउन खुकुलो भएसँगै गएको जेष्ठ १८ गतेदेखि निर्माणको कामलाई पुन सुचारु गरिएपनि सडक मापदण्डका विषयमा स्थानीय र नगरपालिका बीच अन्यौलता उत्पन्न हुँदा काममा थप ढिलाई भएको ठेकेदार कम्पनीको दावी छ । 

        नगरपालिकाको सडक विस्तार मापदण्डमा सबै सडकहरु अनिवार्य ५२ फिट हुनु पर्ने भए पनि सो सडक विस्तार गर्दा स्थानीयको घर गोठनै जाने भएपछि सडक विस्तारले तिब्रता पाउन सकेको थिएन ।निर्माण कम्पनीसँग कर बाहेक ५२ लाखमा निर्माणको सम्झौता भएको सडक विस्तार तत्कालका लागि नाली बाहेक ४० फिट चौडाइको बनाउने सहमती भएको नगरपालिकाले जनाएको छ । तत्कालका लागि ६ सय मिटर लम्बाईमा मर्मतको काम गरिने सो सडकमा ६ मिटर चौडाईमा बेसको काम तथा साढे ५ मिटर चौडाइमा पीचको काम गरिने भएको छ । 


प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६