बुटवल, २५ असार । वर्षाका कारण घर भत्किएपछि विचल्लीमा परेका कान्ति गुप्ताको परिवारलाई रुपन्देहीका सामाजिक संघ संस्थाले सहयोग गरेका छन । रुपन्देहीको गैँडहवा गाउँपालिका पौवा सुकुम्वासी टोलकी कान्ती गुप्ताको घर यही असार २० गते परेको ठूलो पानीका कारण भत्किएको थियो । घर भत्केर बिचल्ली भएको परिवारलाई रुपन्देहीका सामाजिक संस्थाहरुले सहयोग गरेका हुन् ।
गुप्ता एकल महिला हुन भने उनका तीनजना छोराछोरी सानै भएको र उनीहरुको अवस्था चिन्ताजनक भएपछि नेपाल रेडक्रस सोसाइटी र नमुना एकिकृत विकास परिषद रुपन्देहीले सहयोग सामाग्री उपलब्ध गराएका हुन । गुप्ता सहितको परिवारलाई कपडा, कम्मल, त्रिपाल, भाँडा, ड्राइ खाना लगायत दैनिक उपभोग्य सामान हस्तान्तरण गरिएको नमूना एकीकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभयो ।
गैंडहवा गाउँपालिकाकी उपाध्यक्ष शोभावती गुप्ताले घर बनाउन टिनको पाता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उता बुटवल ११ बुद्धनगरस्थित तिनाउ खोला किनारमा हिँडीरहेको बेला तिनाउ खोलाले बगाउँदा ८१ वर्षीय निमवहादुर सेनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सेनको शव बुटवल १७ रानीगंजस्थित तिनाउ खोलाको बीच भागमा नदी माथि घोप्टो अवस्थामा फेलापरेको थियो । सेन गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा न. ४ स्थायी घर भई हाल जिल्ला बुटवल उप महानगरपालिका ११ देवीनगरमा वस्दै आएका थिए ।
प्रतिक्रिया