प्रदेश

२४ घण्टामा देशभर २९ विपद्जन्य घटनाः १२ को मृत्यु, ३२ सम्पर्कविहीन



काठमाडौं, २६ असार ।  पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

        बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परेर २२ जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङ्कोटमा बिहान पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन् । पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ । 

        यस्तै कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन् । कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 

        लमजुङ्को बेँसीशहर नगरपालिका–७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा पहिरो आएर दुई घर पुरिंँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ ।

        धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ । 

        यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । 

        आज कोशी, नारायणी नदीको बहाव उल्ल्ेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ । 

        त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ । प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरुमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ ।  अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ । (रासस)

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६