बुटवल, २९ असार । लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो । यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ । जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ ।
अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउने भएको छ । अन्ततः प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुविषय पढाउन पाउने गरी ऐन संशोधन गरेका छन् । संसोधन ऐन असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । रजिष्ट्रार डा. तिलक आचार्यले ऐनले बहुविषयमा अनुमति दिएपनि विश्वविद्यालयको मुख्य प्राथमिकता बौद्ध दर्शनमै रहने वताउनु भयो । विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनीमा बौद्ध दर्शन, साहित्यका विभिन्न संकायहरु अध्यापन हुँदै आएको छ ।
बुटवलमा ट्राभल एण्ड टुरिजम र कानून विषय पठनपाठन गराइरहेको विश्वविद्यालयले काठमाडौंका ७ क्याम्पसलाई इन्जिनियरिङ सहितका विषय पढाउन सम्बन्धन दिएको छ । ऐन संशोधनपछि छात्रृत्ति दिने वाटो समेत खुलेको छ । अन्य सरकारी विश्वविद्यालयमा जस्तै बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिनु भयो । विश्वविद्यालयलाई कपिलवस्तुको तिलौराकोट र रुपन्देहीको देवदहमा विस्तार गर्ने योजना बनाइएको छ ।
प्रतिक्रिया