ब्रेकिंग न्युज

स्थानीय तहमा बिकास बजेट : प्रदेशमा पहिलो र पछौटे दुबै कपिलवस्तुमा



कपिलवस्तु  ३१ असार  प्रदेश ५ का स्थानीय तहहरुले बजेटमा कुन पक्षलाई मुख्य प्राथमिकताम राख्छन् भन्नेमा सामान्यत पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेका पाइएको छ । तर प्रदेश ५का सबै भन्दा धेरै पूर्वाधार विकासमा बिनियोजन गर्ने पालिका र सबै भन्दै न्यून वजेट पूर्वाधारम राख्ने पालिका पनि कपिलवस्तुकै पाइएका छन् । दुई गैससले संयुक्त रुपमा गरेको अध्ययनमा प्रदेश ५ मा सबैभन्दा धेरै पूर्वाधार विकासमा विनियोजन गर्ने पालिका कपिलवस्तु नगरपालिका देखा परेकेछ । त्यसैगरी सबैभन्दा न्यून वजेट विनियोजन गरेर पछाडीवाट पहिलो बन्नेमा समेत कपिलवस्तुकै यशोधरा पालिका बनेको छ । प्रदेश भित्र सरसर्ती हेर्दा यस्तो अवस्थाछ । 

            प्रदेश ५ का पालिकाले बजेटको एक तिहाई हिस्सा पूर्वाधार विकासलाई छुट्टाएर बाँकी बजेट आर्थिक, सामाजिक, वातावरण तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा खर्च गर्ने गरेका छन् ।रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुका ६ वटा पालिकाको बजेट विश्लेषण गर्दा पूर्वाधार विकासमै बजेटको एक तिहाई हिस्सा विनियोजन भएको देखिन्छ । कतिसम्म भने कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले त आर्थिक वर्ष ०७६/७७ को कूल बजेटको ९० प्रतिशतभन्दा बढी बजेट पूर्वाधार विकासका लागि छुट्याएको थियो । 

            कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले आ.व. ०७५÷७६ मा २८.०६ प्रतिशत बजेट पूर्वाधार विकासमा छुट्याएकामा चालु आर्थिक वर्षमा तीन गुणाभन्दा बढी ९०.११ प्रतिशत बजेट छुट्याएको छ ।रुपन्देहीकै तिलोत्तमा नगरपालिकाले आ.व.०७५/७६मा २६.६१ प्रतिशत बजेट पूर्वाधार विकासमा छुट्याएकामा ०७६/७७ मा २७.०६ प्रतिशत छुट्याएको देखिन्छ।यस्तै कपिलवस्तु कै यशोधराले आर्थिक वर्ष २०७५/७६ मा पूर्वाधार विकासमा १८.१६ प्रतिशत विनियोजन गरेकामा आ.व. २०७६/७७ मा ९.९७ प्रतिशत मात्रै छुट्ट्याएको छ भने पाल्हिनन्दनले आ.व. २०७५/७६ मा ३२.५१ प्रतिशत बजेट छुट्टयाएकोमा आ.व.२०७६/७७ २८.९३ प्रतिशत बजेट पूर्वाधार विकासलाई छुट्टयाएको छ ।

        प्रदेश ५ का उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको विगत दुई आर्थिक वर्षको बजेट विश्लेषण गर्दा केही बाहेक सबै पालिकाको बजेटको पहिलो प्राथमिकतामा पूर्वाधार विकास नै परेको छ । प्रदेश ५ मा १०९ स्थानीय तह छन् ।पूर्वाधार विकास अन्तर्गत स्थानीय तहहरुले स्थानीय सडक, पुल तथा झोलुङगे पुल, सिँचाइ, भवन तथा सहरी विकास, ऊर्जा, लघु तथा साना जलविद्युत एवं वैकल्पिक ऊर्जा, सञ्चार र अन्य भौतिक संरचनाका लागि बजेट छुट्याउने गरेका छन् ।प्रदेश ५ का चार उपमहानगरपालिकामध्ये एक बुटवलले पूर्वाधार विकासतर्फ आर्थिक वर्ष ०७५/७६ मा कूल बजेटको १८.१३ प्रतिशत विनियोजन गरेकामा०७६/७७ मा दोब्बरभन्दा बढी बढाएर ३९.९४ प्रतिशत विनियोजन गरेको छ ।

        रुपन्देहीकै सम्मरीमाई गाउँपालिकाले आ.व.०७५/७६ मा ७.४९ प्रतिशत बजेट पूर्वाधार विकासका लागि छुट्याएकामा आ.व.०७६÷७७ मा झण्डै ७ गुणा बढी ४६.६२ प्रतिशत पु¥याएको छ ।नवलपरासीको पाल्हिनन्दन गाउँपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाले मात्रै आर्थिक वर्ष ०७५/७६ को तुलनामा आ.व.२०७६/७७ मा पूर्वाधार विकासको वजेटमा केही कम विनियोजन गरेका छन् । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको अघिल्लो वर्ष पूर्वाधारतर्फ औसतमा क्रमशः ३४.९१, २३.६३ र २७.०५ प्रतिशत भएकोमा चालु आर्थिक वर्षमा ४६.८९, ३६.४२ र २९.९७ प्रतिशत बजेट छुट्टयाएको चाँदनी नेपाल र पाल्पा विकास केन्द्रले गरेको एक अध्ययनले देखाएको छ ।

        जनतामा वडा तहमा विकास निर्माणका धेरै आकांक्षा र आवश्यकता भएकाले पूर्वाधार विकासमा बजेट बढाउनुपरेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह बताउँछन् । ‘वडा अध्यक्षहरुले पूर्वाधार विकासकै योजनाहरु धेरै ल्याउनुहुन्छ, त्यसैले पूर्वाधार विकासमा बजेट धेरै हुनु स्वभाविक हो,’ उनले भने, ‘माग भएका योजनामध्ये प्राथमिकताका आधारमा छनोट गरेर बजेट दिँदा पनि चित्त बुझाउन मुस्किल हुन्छ ।’ 

        झण्डै दुई दशकपछि स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएका र संघीयताको अभ्यासमा देश विकासको आधारस्तम्भ स्थानीय तह नै मानिएकाले पनि पूर्वाधार विकासलाई स्थानीय तहहरुले पहिलो प्राथमिकतामा राखेर सोही अनुसार बजेट विनियोजन गर्ने गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी बताउँछन् ।

        स्थानीय तहहरुले छुट्टयाएको दुई वर्षको बजेटलाई विश्लेषण गर्दा आर्थिक विकासतर्फ ५.१४ प्रतिशत, सामाजिक विकासतर्फ २९.८४ प्रतिशत, पूर्वाधार विकासतर्फ ३०.४७ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १.५८ प्रतिशत, सुशासन एवं संस्थागत विकासतर्फ ६.७७ प्रतिशत बजेट छुट्टयाएको पाइएको स्थानीय तहका क्षेत्रमा काम गर्दै आएको चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डे बताउँछन् । ‘अपवाद वाहेक सबैले पूर्वाधार विकासमा बजेट वृद्धि गर्दै गएका छन्,’ पाण्डेले भने, ‘स्थानीय तहहरुले झण्डै एक तिहाई बजेट पूर्वाधार विकासमा र अर्काे एक तिहाई बजेट सामाजिक विकासमा छुट्टयाएको देखिनुले उनीहरुले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिएको देखिन्छ । 

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६