काठमाडौं, १ साउन । देशभर सरकारले कोरोना संक्रमणदर घट्दै गएको भन्दै विद्यालयमा अध्ययन–अध्यापन पुनः सुचारु गर्ने तयारी सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि देशभरका शैक्षिक संस्था बन्द छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो। नयाँ शैक्षिकसत्र सुरू भएको तीन महिनासम्म पनि विद्यालहरु खुल्न सकेका छैनन । अहिले विद्यालयहरूलाई स्थानीय सरकारले विदेश तथा अन्यत्रबाट आउने र कोरोना संक्रमित राख्ने क्वारेन्टाइन एवम् आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिएको छ।
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने सम्भावना देखिएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु उपयुक्त नभएकाले विद्यालय पनि क्रमशः खोल्दै जाने तयारी सुरु गरेको बताउनुभयो । गौतमले अन्य सरकारी कार्यालय जसरी नै क्रमशः विद्यालयहरु पनि खोल्ने तयारी भएको बताउनुभयो । विद्यालय सञ्चालन गर्नेबारे मन्त्रालयले कार्यविधि बनाईरहेको जनाइएको छ । कोभिड–१९ महामारीका बेला संक्रमण सर्ने सम्भावना कायमै रहने भएकाले आवश्यक सर्तकता भने अपनाउनुपर्ने पर्ने छ । महामारीकै बीच विद्यालय सञ्चालन गर्ने विषय गम्भीर र संवेदनशील भएकाले निर्णय गर्न केहि समय लाग्न सक्ने बताइएको छ । बालबालिका विद्यालय गएपछि समुहमा बस्ने, विद्यार्थी र शिक्षक तथा विद्यार्थी–विद्यार्थीबीचको सामाजिक दूरी कायम राख्ने लगायतका विषय स्वास्थ्यका हिसाबले गम्भीर विषय हो ।
निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द
सरकारले देशभरका विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरिरहेका बेला निजी विद्यालयहरूले भने बिहिबारदेखि नै अनलाइन कक्षा बन्द गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय गरिएको जनाएका हुन्। सरकारले असार १ गतेदेखि औपचारिक रुपमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेपनि शुल्क नबुझाउन निर्देशन दिएपछि आफूहरू यस्तो कदम चाल्न बाध्य भएको एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया