काठमाण्डौ ३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गराएर अध्यक्ष छाड्ने नयाँ प्रस्ताव अघि सार्नु भएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेर महाधिबेशनपछि अध्यक्ष नबन्ने स्पष्ट पार्नु भएको हो ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राख्नु भएको नेताहरुले जनाएका छन् । तर नेताहरुले प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा बताएका थिए । विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागबाट पछि हटेका छन्।
नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै सकारात्मक रूपमा प्रस्तुत हुनु भएको श्रोतको दाविछ । ’सहमतिको आधारमा निकास दिउँ भनेर दुवै अध्यक्षले मिले मिले जस्तो गरेर आफूलाई प्रस्तुत गर्नुभएको छ। तै पनि ठोस निष्कर्ष निस्किसकेको स्थिति छैन। छलफल जारी छ,’ एक सचिवालय सदस्यले भने, ’हामी समग्रमा प्रस्ताव ल्याउँछौ भनेर दुई अध्यक्षले भन्नुभएको छ।’
यसअघि प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएका प्रचण्डले शनिबारको बैठकमा भने यसबारे कुरै उठाउनु भएन । उहाले उक्त अडान छाडेको संकेत दिने गरी आफ्ना धारणा राख्नु भयो एक नेताको भनइछ । ’प्रचण्डजीले सिधै त भन्नुभएको थिएन, तर मैले बुझ्दा उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको कुरा छाडेजस्तो छ,’ ती नेताले भने। बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान नहुने धारणासमेत आएको थियो। सचिवालय बैठकपछि ओली र प्रचण्ड दुबै राष्ट्रपति भवन सितलनिवास गएकाले भरपर्दाे सहमति गर्दा राष्ट्रपतिलाई साछी राख्न खोजेको संकेत मिलेको छ ।
प्रतिक्रिया