कपिलवस्तु ६ साउन । आफूलाई ‘राष्ट्रिय वाणिज्य बैंक कपिलवस्तु चन्द्रौटाको शाखा अधिकृत बताएर जागिर लगाइदिने’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।शुक्रबार बाँसबारीस्थित एक होटलबाट महानगरीय प्रहरी वृत्त महाराजगन्जले सुर्खेत सिम्ता गाउँपालिका–२ घर भएका २४ वर्षीय महेश चन्दलाई पक्राउ गरेको हो।
उनले ६ जनालाई विभिन्न ठाउँमा जागिर लगाइदिन्छु भन्दै एक करोड ७५ लाख ठगी गरेको वृत्तले जनाएको छ। उनीविरूद्ध प्रदिप सन्यासीले उजुरी दिएका थिए।सन्यासीलाई उनले राष्ट्रिय अनुसन्धानको सूचक पदमा जागिर लगाइदिने आश्वासन दिएर ठगी गरेका थिए। उनकै दिदी उर्मीला सन्यासीलाई पनि भेरी अञ्चल अस्पतालमा नर्सिङ अधिकृतको सातौं तहमा जागिर लगाइदिने भनेका थिए। उनीहरू दुबैबाट चन्दले आठ लाख ५० हजार रूपैयाँ लिइसकेका थिए।
त्यसैगरी चन्दले सन्यासीका छिमेकी प्रकाश थापा, सुनील बानिया, कुमारी गुरूङ र रितेश पौडेललाई वैदेशिक रोजगारीमा जापान पठाइदिने भनेका थिए। उनीहरूबाट प्रोसेसिङका लागि भन्दै प्रत्येक व्यक्तिबाट दुई लाखका दरले लिइसकेका थिए।पैसा लिइसक्दा पनि उनीहरूले आफूहरु ठगिँदै गरेको चाल पाएका थिएनन्।
चन्दले फेरि सन्यासीबाट एक करोड ५० लाख आफ्नो खातामा जम्मा गर्न लगाए। रकम लिइसकेपछि चन्दले प्रदिप र उर्मिलालाई नियुक्तिपत्र लिन बोलाए।उनी आफैँ भेट्न भने गएनन्। तर उनले नियुक्तिपत्र पानीपोखरीस्थित शुभकामना स्टेसनरी पसलमा छाडेको र त्यहीबाट लिन सुझाव दिएका थिए। दुबै जना नियुक्तिपत्र लिन पुगे, नियुक्ति पत्रको साटो खाम दिइएको रहेछ।
पीडित परिवारले प्रहरीलाई दिएको उजुरी अनुसार उनीहरूलाई उक्त खाम नखोल्न र सम्बन्धित कार्यालयमा हाजिर हुन जान भनेका थिए।त्यहाँबाट उनीहरूले तीन वटा खाम पाएका थिए। तर शंका लागेर खोल्दा उक्त खाम खाली भेटिएको थियो। त्यसपछि उनीहरूले ठगिएको भन्ने थाहा पाएर प्रहरी समक्ष उजुरी दिएका थिए।
प्रतिक्रिया