लमजुङ ७ साउन । अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । घाइतेलाई बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।
मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकाल्ने कार्यमा छन् ।
त्यस्तै पहिराले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु यामकुमारीको मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरामा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो । घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिराले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ ।स्थानीयवासीले जनाएका छन् ।
प्रतिक्रिया