कपिलवस्तु , ७ साउन। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले ४२ औ पुष्पलाल स्मिृति दिवस मनाएको छ । कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा प्रत्येक बर्ष श्रावण ७ गतेका दिन स्मृति दिवस मनाइदै आएको छ । नेकपा जिल्ला कमिटिले पार्टी कार्यालय तौलिहवामा एक विशेष कार्यक्रम गर्दै नेपालमा कम्यूनिष्टको जग बसालेका पुष्पलाल श्रेष्ठको स्मरण गरेको हो ।
कार्यक्रममा स्वर्गीय नेकपाका संस्थापक महासचिव पुष्पलालको जीवनी तथा कम्यूनिष्ट पार्टी स्थापनामा उहाँको योगदान बारे चर्चा गरिएको थियो । भारतमा २००६ सालमा स्थापना गरिएको गरिएको कम्यूनिष्ट पार्टी स्थापनाका क्रम देखि २००७ सालको प्रजातान्त्रिक आन्दोलन सम्म कम्यूनिष्ट पार्टिको भूमिका स्थापनामा पुष्पलाल श्रेष्ठकै ठूलो योगदान भएको कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय निर्मल कुमारले बताउनुभयो ।
उहाले बर्तमान कम्यूनिष्ट पार्टीको सिंगो जग त्यतिबेला पुष्पलालहरुले लिएको बताउदै उहाँको सपना सिंगो शशक्त र समाज प्रति जिम्मेवार कम्यूनिष्ट पार्टी बनेको देख्न चाहेको र अहिले त्यो आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य विमला घिमिरेले पुष्पलाल श्रेष्ठको सपना सबै कम्युनिष्टहरुको सपना भएकाले समाजवाद तथा नेपालको सर्वहारा बर्गको उन्नती आवश्यक रहेको बताउनुभयो । दाजु शहिद गंगालाल श्रेष्ठको प्रेरणाले राजनितिमा आउनुभएको पुष्पलाललाई उनकी श्रीमती तथा नेकपाकी नेतृ सहाना प्रधानको समेत ठूलो सहयोग भएकै कारण आज नेकपा देशकै सत्तारुढ पार्टी जस्तो गरिममामय स्थानमा आएको जिकिर गर्नुभयो ।
कार्यक्रमलाई समापन तर्फ लैजाने क्रममा पुष्पलाल स्मृती दिवस कार्यक्रमको अध्यक्षता गरिरहनुभएको नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले सिकाएको सादा जीवन उच्च विचार तथा सबै कार्यकर्तालाई समान दृष्टिकोणको मान्यता सहितको धारणा अहिलेको नेकपाका नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
देशकै ठूलो पार्टी नेतृत्वमा केहि बैचारिक वहस तथा छलफल हुने वित्तिकै पार्टी विभाजन हुने वा फुट्ने हल्ला गर्नु ठीक नभएको भन्दै नेतृत्व मिल्नुको विकल्प नभएको भन्दै कसैले पनि त्यस्ता भ्रामक समाचार वा टिप्पणीलाई गम्भीरताका साथ लिन नहुने जिकर गर्नुभयो । कार्यक्रममा नेकपा प्रदेश सदस्य जनी बन्जाडे, सत्यनारायण त्रिपाठी, कृष्ण पौडेल, प्रदेश सभा सदस्य फौजिया नसिमको सहभागिाता रहेको थियो भने संचालन नेकपा कपिलवस्तुका सचिव विष्णु शाहले गर्नुभएको थियो ।
प्रतिक्रिया