गुल्मी ७ साउन ।जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय उत्पादन १३ टन कोदोलाई गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल खरिद गरी राहत वितरण गरेको खुलेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण दैनिक काम गरी साँझ बिहान खाने मजदुरहरूलाई समस्या परेको भन्दै राहत स्वरूप गाउँपालिकाले खाद्यान्न वितरण गरेको थियो ।
गाउँपालिकाले पालिका भित्रका अति विपन्न एक हजार २४६ घर परिवारलाई बजारका चामल खरिद गरी राहतको नाममा वितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले आफूले राहतमा चामल भन्दा स्थानीय उत्पादन कोदो वितरण गरौँ भन्दा कार्यपालिकाको बैठकमा आफू अल्पमतमा परेको बताएका थिए ।
गाउँपालिकाले स्थानीय इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यी सहकारीको गोदाममा १३ टन कोदो प्रशोधन गरी गाउँपालिकाको लोगो लगाई प्याकिङ सहित यसै थन्किएर बसेको छ । पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसँग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल खरिद गरी वितरण गरेको हो । कोदो उत्पादन गर्ने किसानहरूलाई प्रति केजी ५० रुपैयाँका दरले सहकारी मार्फत गाउँपालिकाले लिएको हो ।
प्रतिक्रिया