बाणगंगा ७ साउन ।महिला शक्ति विकास केन्द्र नेपालले बुधवार एक कार्यक्रमका बिच ४६ जना गरिब, विपन्न, एकल महिला तथा गर्भवती महिलालाई राहत वितरण गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ र ६ का गरिब, विपन्न, एकल महिला तथा गर्भवती महिलाहरूलाई राहत वितरण गरेको हो । संस्थाले गठन गरेका गाउँ महिला समूह अन्तरगतका लकडाउनले प्रभावित अति विपन्न, असहाय ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै राहत वितरण गरेको हो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध कारण समस्या भोगेका गरिब, विपन्न, एकल महिला तथा गर्भवती महिलाका परिवारलाई २० केजी चामल, २ केजी दाल, १/१ केजी नुन, तेल, चिनी, चिया पत्ती र मास्क वितरण गरेको हो । राहत वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख तारा ती चौधरीले कोरोना भाइरसका कारण खाद्यसंकटमा परेको विपन्न वर्गलाई राहत प्रदान गरेको भन्दै संस्थाले गरेको कार्यको प्रशंसा गर्नु भयो । साथै बन्दाबन्दीको समयमा महिला हिंसाको घटना बढेको बताउँदै हिंसाका विरुद्ध सबै मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष भीष्मराज भुसालले बोल्दै सरकारले लकडाउन हटाए पनि कोरोनाबाट बच्न सबैले सुरक्षा सतर्कता र सजगता अपनाउनु पर्नेमा जोड दिनुभयो । कोरोनाका कारण विश्व अर्थतन्त्र नै खलबलाएको बताउँदै सङ्कटको समयमा संस्थाले प्रदान गरेको राहतले गरिब विपन्न मजदुर महिला दिदीबहिनीलाई केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले वडा भित्रका गरिब विपन्न मजदुर राहत नपाएका परिवारको तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा वडाले समेत राहत वितरण गर्ने योजना रहेको समेत बताउनुभयो ।
इलाका प्रहरी कार्यालय कोपवाका प्रमुख शिवबहादुर रायमाझीको समेत उपस्थिति रहेको राहत वितरणमा संस्थाकी क्षेत्रीय संयोजक जानकी चौधरीले आज बुधवार ४६ जना महिला दिदीबहीनीहरुलाई मात्र राहत वितरण गरेको बताउँदै आगामी दिनमा बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका भित्र गठित गाउँ महिला समूहका गरिब विपन्न, एकल, गर्भवती असहाय गरी ३ सय ६५ जना महिला दिदी बहिनीहरूलाई राहत प्रदान गर्ने जनाउनुभयो ।
साथै उहाँले विगत लामो समय देखि महिला शक्ति विकास केन्द्र महिलाका सशक्तीकरणका लागि विभिन्न सिपमूलक तथा आयआर्जन मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभएको थियो । उहाँले कोरोना पनि कोरोना सङ्क्रमणबाट बच्न सबैलाई सुरक्षा सजगता अपनाउन, भिडभाडमा जादां सामाजिक दुरी कायम गर्न सबै महिलाहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले स्थानीय महिला दिदी बहिनीले कोभिडले दिएको चोटमासंस्थाले प्रदान गरेको राहतले मलम लगाई दिएको प्रतिक्रिया दिएका थिए । राहत वितरण कार्यक्रम संस्थाकी कोरलिडर शिवकुमारीको सञ्चालनमा भएको हो ।
प्रतिक्रिया