कपिलवस्तु ९ साउन ।प्रदेश ५मा सबैभन्दा बढी संक्रमित देखिएको कपिलवस्तुमा निको हुने दर सबैभन्दा बढी ९८.४१ प्रतिशत रहेको पाइएको छ । कपिलवस्तुका ७ सय ५६ संक्रमितमध्ये अहिले १२ जना मात्र आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । ७ सय ४४ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म प्रदेश ५ मा ४ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ ।
सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दाङ जिल्लामा १ सय ४ जना आइसोलेसनमा छन् । त्यसैगरी बाँकेमा ४ सय २ बाट घटेर २० जना मात्र सक्रिय संक्रमित रहेका छन । हाल सक्रिय संक्रमितमध्ये रुपन्देहीमा २१ जना, प्युठानमा ८ जना, गुल्मीमा ५ र अर्घाखाँचीमा ४ जना रहेका छन् । त्यसै गरी बर्दियामा २९, नवलपरासीमा १८, रोल्पामा २०, र रुकुम पूर्वमा ७ जना संक्रमित रहेका छन् ।
मुलुकमा लकडाउन भएको ४० दिनपछि प्रदेश ५ मा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । २०७७ वैशाख १९ गते रुपन्देही र बाँकेमा कोरोना संक्रमित फेला परेका थिए् । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ७ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । बाँके र कपिलवस्तुमा त्यसपछि संक्रमितको संख्या निरन्तर वढेको भएपनि अहिले ह्वात्तै घटेको छ ।सबैभन्दा धेरै संक्रमित कपिलवस्तुमा ७ सय ५६ जनामा देखियो ।
त्यसपछि दाङमा ६ सय ५३ र पाल्पामा ५ सय ५५ जनामा संक्रमण देखियो । सबैभन्दा कम रुकुम पूर्वमा १५ जनामा संक्रमण भयो । प्रदेश ५ मा हालसम्म देखिएका ४ हजार १ सय ४२ संक्रमितमध्ये ३ हजार ८ सय ७० जना निको भएर घर फर्किसकेका छन् । अहिले सक्रिय संक्रमित अर्थात् आइसोलेसनमा उपचाररतको संख्या २ सय ५९ रहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । कुल संक्रमितको तुलनामा निको हुने दर ९३.४३ प्रतिशत हो।
प्रतिक्रिया