कपिलवस्तु ११ साउन । लामो समयको लकडाउनको मार ह्याचरी उद्योगमा समेत देखिएको छ । लकडाउनका बेला उत्पादन बिक्री नहुँदा नेपालका ३२४ ह्याचरी उद्योगले ठुलो नोक्सानी बेहोर्नु परेको छ । सञ्चालन भएका साना तथा ठुला उद्योगको उत्पादन बन्द हुँदा नोक्सानी बेहोर्नु परेको छ । नियमित घाटा हुँदा केही उद्योगले उत्पादन समेत बन्द गरी बसेका छन् । लकडाउन अवधिमा चल्लाको माग नभए पछि उत्पादन भएको चल्ला नष्ट गर्दा , माउ कुखुरालाई दाना खुवाउँदा , सञ्चालन खर्चका कारण उद्योग घाटा गएको हो ।नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार दैनिक २१ करोड ९५ लाख नोक्सानी भएको छ । व्यवसायीहरूले ७० दिन सम्म उत्पादन बन्द गर्नु पर्दा १५ अरब बढीको नोक्सानी भएको छ । लकडाउन सुरु भएको बेलामा उत्पादन भएको चल्ला बिक्री नहुँदा नष्ट गर्नु परेको थियो । करिब ४ करोड २० लाख चल्ला नष्ट गर्नु परेको छ । उत्पादन भएको चल्ला ७२ घण्टा भित्र कृषकको खोरमा पुराउनु पर्छ । कृषकको खोरमा नपुगे चल्ला मर्न सुरु गर्छ । नियमित घाटाका कारण ४० उद्योगले चल्ला उत्पादन बन्द नै गरेका छन् ।
लकडाउनमा रु ६० लागत मूल्य पर्ने चल्ला रु १५ मा विक्री
रुपन्देहीको देव दह ह्याचरीका सञ्चालक गोविन्द खड्काले लकडाउनमा ३ करोड नोक्सानी भएको बताए । कोरोनामा कुखुरा बिक्री न्यून हुँदा चल्ला समेत बिक्री भएन । गाड्न लागेको अवस्थामा व्यापारी आएर पन्ध्र रुपियाँमा समेत विक्री गर्नु पर्यो । कोरोनाको महामारीको वेला कुखुरा बिक्री नहुँदा कृषकले नयाँ चल्ला खरिद गरेका थिएनन् ।कुखुराको दाना अभाव र बिक्री नभए पछि न्यून मूल्यमा कुखुरा विक्री हुँदा चल्लाको बिक्री रोकिने अवस्थामा पुगेको थियो । उत्पादन भएको चल्ला नष्ट गर्न लाग्दा व्यापारीले थोरै मात्रामा भएपनी १५ रुपैयाँमा चल्ला खरिद गरेका थिए । उत्पादन मूल्य नै करिब ६० रुपैयाँको हाराहारीमा आउँछ । । ७० प्रतिशत भन्दा उच्च मात्रामा उत्पादन भयो भने लागत मूल्य ६० सम्म पर्न जान्छ । ह्याच गर्ने मिसिनले २१ मा चल्ला उत्पादन गर्छ । प्रत्येक सातामा २ दिन चल्ला उत्पादन गरी विक्री गर्ने गरीन्छ
देश भरी ब्रोइलर कुखुराको चल्ला उत्पादन घट्यो
नेपाल भरीका उद्योगबाट हप्तामा ४२ लाख चल्ला ब्रोइलर , कोइलर, लोकल समेत उत्पादन क्षमता रहेको छ । लकडाउन पछि व्यापार खुम्चिदा सातामा ३६ लाख चल्ला उत्पादन भएको छ । ब्रोइलरका चल्लाको मात्र अहिले सातामा ३० लाख डिमान्ड रहेको छ ।अहिले ब्रोइलर चल्ला उत्पादन ३०५ ले गिरावट आएको छ । करिब एक वर्ष सम्म उत्पादनमा गिरावट आउने सङ्केत देखिएको छ । ६ लाख ब्रोइलरमा प्यारेन्ट ( अण्डा पार्ने माउ ) मासिएका छन् । त्यसैले पनि उत्पादन घटाएको छ । नयाँ प्यारेन्टको आधा हिस्सा नेपालमा उत्पादन हुन्छ । आधा विदेशबाट आयात गर्नु पर्ने देखिन्छ । तर अहिले विदेशबाट आयात ठप्प भएको छ । प्यारेन्ट चल्लाबाट अण्डा उत्पादन गर्न ६ महिना भन्दा बढी समय लाग्दछ ।
प्रतिक्रिया