कपिलवस्तु ११ साउन । नेपाली सेनाले कपिलवस्तुमा बोटानिकल गार्डेन तयार पारेको छ । बाणगंगा नगरपालिका ८ मा रहेको शान्तिकुञ्ज मधुवनधाममा निमार्ण गरिएको गार्डेन २५ लाख लागतमा तयार पारिएको हो । गार्डेन १५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । चारै तिरबाट पिसिसि ढलान गरी तार वार गरिएको छ । चौध सय मिटर लामो पैदल हिडन मिल्ने गरी फुटल्यान समेत निमार्ण गरिएको छ ।
परिसर भित्र ७५० बिरुवा रोपिएका छन् । निमार्ण सामाग्री टेन्डर मार्फत खरिद गरी नेपाली सेनाको जनशक्ति लगाई ६ महिनामा तयार गरिएको हो । मध्य पश्चिम पृतना हेडक्वाटरको सामाजिक आर्थिक पूर्वाधार विकास कार्यक्रम अन्तरगत कपिलवस्तुको वाणगंगा ८ मधुवन धाममा बोटानिकल गार्डेन तयार गरिएको हो । प्रदेश नं. ५ को स्वर्गद्वारीमा नेपाली सेनाले अर्को बोटानिकल गार्डेन तयार गरेको छ ।
उक्त बोटानिकल गार्डेनको आज एक समारोहबिच उद्घाटन भएको छ । २२ नं. वाहिनी पति सहायक रथी सुदर्शन सिलवालले उद्घाटन गर्नुभएको हो । तयार पारिएको गार्डेनको गेटको चाबी आजै समितिलाई हस्तान्तरण गरेको छ । नारायण दल गणका गणपति प्रमुख सेनानी तुरेन्द्र विक्रम आङदेम्बेले शान्ताकुञ्ज मधुवन धाम समितिका अध्यक्ष चुरामणि अर्याललाई गार्डेनको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख मङ्गल प्रसाद थारुले नेपाली सेनाले स्थानीय स्तरमा गरेको महत्त्वपूर्ण कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाली सेनाबाट सहयोगको अपेक्षा राख्नुभयो ।
बोटानिकल गार्डेन भित्र सौन्दर्यीकरणका लागी पानीको फोहोरा समेत निमार्ण हुन लागेको छ । मधुवन धामका लागी ८२ बिगाहा क्षेत्रफलको डिपीआर तयार भएको थियो । उक्त गार्डेनमा विभिन्न निकाय तथा विद्यार्थीका लागि अध्ययन अनुसन्धानका लागि समेत उपर्युक्त हुने वडा अध्यक्ष गुणनिधि भुसालले बताउनुभयो ।
प्रतिक्रिया