ब्रेकिंग न्युज

आजको सुखद क्षण , तीन पर्व एकै दिन



कपिलवस्तु १९ साउन । सायदै यस्ता संयोगहरु एकै दिनमा कमै जुट्न सक्छन् । आज त्यस्तै संयोग जुटेको छ । जनै पूर्णिमा ,क्वाटीखाने पर्व र संकृत दिवस एकै दिन आज परेका छन् । हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञ वल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रुपमा पनि चिनिन्छ ।

        यसै दिनलाई जनैपूर्णिमापनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।

    त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ(आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन्

        समथर फाँटका गह्राहरुदेखि गैरि खेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ ।    भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरू कालागि राखी खरिद गर्नुभयो त ?  अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूका लागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ त आज ?

        हरेक चाडवाडको आ आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

        यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो )लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६