रुपन्देही, २२ साउन ।बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरू वर्षावासमा बस्नुभएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो । थाइल्याण्डका केही भिक्षुहरू भने असार पूर्णिमादेखि नै वर्षावासमा बस्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थ वीरले जानकारी दिनुभयो ।
सोमबार साँझ लुम्बिनीमा विशेष धार्मिक कार्यक्रम गरेर भिक्षुहरू वर्षवासमा बस्नुभएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा सोमबार साँझ आयोजना गरिएको धार्मिक कार्यक्रममा भिक्षु, गुरुआमा, स्थानीय बौद्ध उपासक उपासिका सहभागी हुनुभएको थियो ।वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव तथा किरा बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरू वर्षावास बस्ने गर्नुहुन्छ ।
बुद्धजन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरू वर्षावास बस्नुभएको छ । वर्षावास भनेको भिक्षुहरू तीन महिना एकै विहारमा बसेर अध्ययन एवं चिन्तनमनन गर्नु हो । वर्षाको समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरू यताउता आवतजावत गर्न गाह्रो हुने भएकाले भगवान् बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्षुहरूको भनाइ छ । (रासस)
प्रतिक्रिया