ब्रेकिंग न्युज

प्रदेश ५ कोरोनाको जोखिम वढ्दै, प्रहरी र स्वास्थ्यकर्मी सहित ७० भन्दा बढीमा संक्रमण ।



बुटवल, साउन २६ 

पछिल्लो समय अग्रभागमा खटिनेहरुमा धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । प्रदेश ५ मा बाँके, कपिलवस्तु र रुपन्देहीमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फेला परेको छ । त्यसमा पनि स्वास्थ्यकर्मी, प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा गत वैशाख ३० गते एक नर्समा कोरोना संक्रमण देखिएको थियो । उनीसहित हालसम्म कपिलवस्तुमा एक दर्जन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिइ सकेको छ । अग्रभागमा हुनेहरुमध्ये स्वास्थ्यकर्मीहरु कोरोनाको सबै भन्दा जोखिममा हुने गरेका हुन् । बिरामीको उपचारमा खटिनुपर्ने भएकाले समुदायस्तरमा कोरोना फैलिदा सबैभन्दा बढी स्वास्थ्यकर्मीहरु जोखिममा परेका हुन् ।

बाँकेमा पनि एक दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएको छ । आज मात्र नेपालगञ्ज मेडिकल कलेजका २ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजमा ३ जना चिकित्सक र ६ नर्सिङ स्टाफमा कोरोना संक्रमण देखिएको छ । बाँकेमा हालसम्म ४ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिसकेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । 

यस्तै रुपन्देहीमा हालसम्म ३ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा गरेर ३ दर्जन बढीमा कोरोना संक्रमण देखिएको छ । प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पर्याप्तमात्रामा पिपिइ लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएको दावी गर्नु भयो । अग्रभागमा रहेर काम गर्ने मध्ये कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मीहरु देखिएका छन । केन्द्रमा प्रहरी प्रधान कार्यालयमा ठूलो संख्यामा भाइरस देखिँदा प्रदेशका प्रहरी इकाइहरुमा पनि संक्रमण बढेको छ । बाँकेको नेपालगञ्जमा रहेको वडाप्रहरी कार्यालयमा ३५ जनामा संक्रमण देखिएको छ । 

यो सहित प्रदेशभरमा कुल संक्रमितको संख्या ४१ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिनु भयो । समुदाय र सबै पक्षसँग भेटघाट गर्नुपर्ने हुँदा सञ्चारकर्मी पनि जोखिममा छन । फिल्डमा खटेर समाचार संकलन गर्ने सञ्चारकर्मीहरु जोखिममा छन । कपिलवस्तुमा ४ जना र रुपन्देहीमा ३ जना सञ्चारकर्मीहरुमा संक्रमण पुष्टि भएको छ । बढी मानिसहरुसँग सम्पर्क हुने पसलका व्यापारी, बैंकका कर्मचारीहरुमा पनि पछिल्लोपटक संक्रमण देखिएको छ । कपिलवस्तुमा पनि २० जना भन्दा बढीमा बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६