कपिलवस्तु २७ साउन
कपिलवस्तुमा रेडियो शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको संयोजनमा जिल्लाका विभिन्न रेडियोहरुबाट प्रसारण हुने रेडियो कक्षा कार्यक्रममा विद्यार्थीहरुको आर्कषण बढेको बताएको छ । विश्भर कोभिड १९ कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधीहरु बन्द रहेको बेला विद्यालयहरु बन्द हुदाँ विद्यार्थी विगत ४ महिना देखि विद्यालय गएका छैनन । विद्यालय बन्द र कोरोनाको महामारी अझै कहिले सम्म रहन्छ भन्ने अन्योलता नै रहेको अवस्थामा विद्यार्थीको पठनपाठन जिल्लाका रेडियोहरु मार्फत हुदै गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा सहज भएको छ । पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालका अनुसार कोरोनाको प्रभाव हुदाँ पनी वाल बालिकाको शिक्षाको पहुँच पुराउन रेडियो शिक्षा संचालन गरेको बताए ।
पत्रकार महासंघ कपिलवस्तुको संयोजन, जिल्लाका १० वटै तह , नेपाल शिक्षक महासंघ कपिलवस्तुको सहकार्य,शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वय र युनिसेफ, कालिका स्वाबलम्बन विकास केन्द्रको सहयोगमा जिल्लाका तिन वटा सामुदायिक रेडियोबाट दैनिक ५ वटा विषयका कक्षा संचालन भइरहेका छन । कक्षा ४ देखी ८ सम्म नेपाली, अंग्रेजी,गणित,विज्ञान र सामाजिक विषयको कक्षा रेडियोहरुबाट प्रसारण भए पछि विद्यार्थीहरुले रेडियोवाट सिक्दै आएको कालिका स्वावलम्वन सामाजिक संस्थाका कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताए ।
रेडियो शिक्षाको विषयमा के भन्छन अभिभावक र बालबालिकाहरु
विद्यालय बन्द, दिनभरी मोबाइल र टिभीमा भुल्ने छोरा छोरी अहिले भने रेडियो सुन्दै पढ्दै गरेको देख्दा खुसी लागेको विजयनगर गाउँपालिका वडा नं. ५ का रामदयाल कुर्मीले भने । रेडियो कक्षा सुरु भए पछि आफ्नो छोराछोरीले नियमित रेडियो सुन्दै पढ्दै गरेको बुद्घभुमि नगरपालिका ९ कि अभिभावक बिष्णु भुसालले बताईन ।
दिउँसोको १ः४५ बजे घरमा भएको सानो नोकिया मोबाइल सेटमा रेडियो बजाउदै पाठ्यपुस्तक खोलेर रेडियो सुन्दै पढ्ने गरेको शिवराज नगर पालिका ३ की सुस्मिता पाण्डे बताईन । उनी श्री आधारभूत विद्यालय मदवामा कक्षा सातमा पढ्छिन । स्थानिय सामुदायिक रेडियोहरुबाट पढाइ हुन थालेपछि उनी रेडियो सुन्दै पढ्दै आइरहेकी छिन । उनी संगै बसेर अरु कक्षा पाचमा पढ्ने सुमन, ६ पढ्ने रिता, कक्षा सातमा नै पढ्न उनका अन्य ३ जान साथीहरुले पनि संगै रेडियो सुन्दै पढ्दै गरेको उनले बताइन । रेडियोबाट सरहरुले पढाउदाँ अलि विस्तारै पढाई दिए अझ राम्ररी बुझन सकिने सुमनले बताए ।
विद्यालय लामो समय सम्म बन्दा रहदाँ विद्यार्थीहरुको पढाई नै प्रभावित भएको अवस्थामा रेडियो कक्षाले केहि भए पनि विद्यार्थीहरुलाई राहत पुराएको विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख शिवराज सुवेदिले बताए । भित्री मधेशका विद्यालयमा पढ्ने बालबालिकालाई भने भाषाले केहि बुझन समस्या पर्ने गरेको समेत उनले बताए । “प्रत्यक्ष कक्षामा नै नेपाली र अवधी भाषाबाट बुझाउनु पर्ने हुन्छ रेडियो बाट एकतर्फी नेपालीमा भाषा मात्रै बोल्दा विद्यार्थीको सिकाइमा केहि अप्ठ्यारो भने पक्कै छ” सुवेदीले भने । रेडियो मार्फत प्रशारण भएको रेडियो कक्षा सुनेर अधिकांश विद्यार्थीहरुले प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताएका छन् ।
रेडियो शिवराजबाट उत्पादन हुने रेडियो कक्षा शिक्षामा २५ जना शिक्षकले रेडियोबाट पढाउने र जिल्लाका सामुदायिक रेडियो विजयनगर एफ.एम, सामुदायिक रेडियो कपिलवस्तु र सामुदायिक रेडियो शिवराजबाट प्रसारण हुदै आएको छ ।








प्रतिक्रिया