ब्रेकिंग न्युज

तीनमहिना ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुँदै



काठमाण्डौ २८ साउन ।  नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम द इण्डियन एक्सप्रेस ले जनाएको छ । भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्ने द इण्डियन एक्सप्रेसले जनाएको छ । भिडिओ वार्तामा कोरोना भाइरसको महामारीका विषयमा पनि छलफल हुनेछ ।

      भारतले भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्ग, रेल, पुलिस तालिम केन्द्र, पेट्रोलियम पाइपलाइन लगायतका परियोजनामा सहयोग गरिरहेको छ । भारतले यो वर्षको बजेटमा आठ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यी परियोजनाको विषयमा संवाद हुनेछ । सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 

          त्यसपछि गएको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विवाद झनै बढ्यो र संवादविहीनताको अवस्था सिर्जना भएको छ ।  भारतको त्यो व्यवहारपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो विषयलाई लिएर नेपाल र भारतबीच तनाव उत्पन्न भएको छ भने द्विपक्षीय संवाद पनि ठप्प भएको छ ।

   नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताको लागि भारतलाई पटक–पटक अनुरोध गरेपछि मार्च महिनामा वार्ता गर्ने सहमति भएको थियो । तर कोरोना भाइरसको महामारीलाई कारण देखाएर भारतले एकतर्फी रुपमा वार्ता स्थगित भएको जानकारी दिएको थियो । गएको मे ११ तारिखमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच संवाद भएयता दुई पक्षबीच संवाद भएको छैन । 

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६