जनकपुरधाम २८ साउन। महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।मटिहानी नगरपालिका वडानम्बर ६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो । आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो ।
सोही दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरी मण्डलले जानकारी दिए ।अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मेयर मण्डलले बताए ।फोक्सो र मधुमेहका बिरामी ती पुरुषलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि मृतकको अन्तिम संस्कार गरिसकिएको अवस्थामा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।मृत्युपछि अन्तिम संस्कारसमेत गरिसकिएको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिएको मेयर मण्डलले जानकारी दिए ।
उनका अनुसार पहिलो कन्ट्याक्टमा उनको सम्पर्कमा देखिएका १५ जनाको स्वाब संकलन गरिएको छ । अन्य कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको उनले बताए ।मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
प्रतिक्रिया