सुर्खेत २९ साउन । सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन् । लुकाएर राखेको अवस्थामा सुनका गहनासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका डीएसपी रामप्रसाद घर्तीले बुधबार राति करिब १० बजेतिर वीरेन्द्रनगर नगरपालिका वडा नं ३ उत्तरगङ्गाको एक घरमा लुकाएर राखेको अवस्थामा सुनका गहना बरामत गरिएको जानकारी दिनुभयो ।उहाँले १६ वटा चुरा, दुई वटा कडा, पाँच वटा झुम्का, चार वटा शिरफुल, तीन वटा क्लिप, एक वटा काँटा बरामत गरिएको बताउनुभयो ।
उहाँले सुनका गहना बरामत गर्दा नजोखेर सिलबन्दी गरिएकाले कति सुन छ भनेर एकिन नभएको उल्लेख गर्नुभयो । जनप्रतिनिधिको रोहबरमा गहना सिलबन्दी गरिएको उहाँको भनाइ छ । उहाँले सुन चोरेर ल्याएको हुन सक्ने अनुमान गरिएको बताउँदै पक्राउ परेका व्यक्ति सुन ल्याउनेभन्दा पनि सुन राख्ने भएको जानकारी दिनुभयो । सुन ल्याउने मुख्य व्यक्ति हुन सक्ने भन्दै खोजी कार्य र अनुसन्धान गरिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया