ब्रेकिंग न्युज

रञ्जन कोइराला भन्दा पनि भाग्यमानी राजाबाबु हत्याका अभियुक्त,अदालतद्वारा २० हजार जरिवाना र २ वर्ष कैद फैसला



कपिलवस्तु २९ साउन ।कपिलवस्तुको दक्षिणी भेगका चर्चित युवा नेता दीपेन्द्र कुमार चौधरी (राजाबाबु) लाई गोली हानी मार्ने अभियोगमा पक्राउ परेका २ जनाको मुद्दा फैसला भएको छ । २०७५ साल कार्तिक ७ गते भएको घटनामा संलग्न भनी प्रहरीले पक्राउ गरेको अमित कुमार पाण्डे (गुल्टु) र रामकृष्ण पाण्डे (मोन्टी) लाई २० हजार जरिवाना र २ वर्षको कैदको फैसला भएको छ । रञ्जन कोइरालाको केसमा भन्दा पनि कम सजाय हुने गरी फैसला भएको छ । कोइरालालाई ८ वर्ष ६ महिनाको जेल सजाय तोकिएको थियो । २ वर्षे सजाय सुनाएका दुई भाइको कैद सजाय पुरा हुन अव ४ महिना मात्र बाकी रहेको छ । 

           साउन २५ गते आइतबार कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठबाट फैसला भएको श्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले बताउनु भएको छ । अभियोगमा मुलुकी अपराध संहिताको दफा १८२ उपदफा ‘२’ अनुसार फैसला भएको उल्लेख छ । फैसलाको पुरा विवरण आउन भने बाकी रहेको भण्डारीले बताउनु भयो ।‘जिल्ला सरकारी वकिल कार्यालयले उक्त दिन पेसी स्थगित गर्नका लागी पत्र पठाएको थियो ।

        कार्यालय प्रमुख गोविन्द गिरी बाहिर भएको कारणले पेसी सार्न अनुरोध गरे पनि न्यायधीस श्रेष्ठले स्थगित नगरी फैसला गर्नु भएको हो । सामान्यत यस्ता सरकारवादी मुद्धामा सरकारी वकिलले स्थगनको पत्र पठाएपछि रोकिन्छ । तर यो घटनामा त्यो मान्यता लागु भएको पाइएन ।  प्रत्यक्षदर्शीको बयान, कल डिटेलकाआधारमा ७ जना राजाबाबुको हत्यामा जोडिएको प्रहरीको प्रमाण पेश भएता पनि घटनालाई मोडेर सामान्य प्रकृतिको बनाइएको अधिवक्ता वृजेन्द्र चौधरीले बताउनु भएको छ  ।  मुलुकी अपराध संहिताको दफा १७७ उपदफा ‘१’ अन्तर्गत मुद्दा दायर भएको छ । दफा १७७ मा ज्यान मार्ने नियतले कुनैपनी काम गर्न नहुने  भनिएको छ भने, फैसला गरिएको दफा १८२ अनुसार हेलचक्राई गरी कसैको ज्यान मार्न नहुने व्यवस्था रहेको छ ।

        घटनास्थल नजिकका घर रहेका बाबुराम सुवेदी सहित ७ जना स्थानीयले प्रत्यक्ष रूपमा घटना भएको देखेका थिए । उनीहरूले दिएको बयान कै आधारमा घटना संलग्न रहेकालाई कर्तव्य ज्यान तथा हातहतियार अन्तर्गत मुद्दा दायर गरेका थियौ । ज्यान मार्ने अपराधमा पनि न्यून सजाए सुनाउँदा अदालतबाट न्याय नपाएको अनुभव भएको छ । उनीहरू दोषी छैनन् भने रिहा गरे पनि हुन्छ । तर घटनामा संलग्न रहेका छन् भने मुद्दा अनुसार सजाय हुनु पर्छ । ’ राजाबाबुका भाइ जितेन्द्र कुमार चौधरीले स्पष्ट पार्नु भयो ।  १० महिना पछि प्रतिवादीले साक्षी खडा गरे, आरोपी र साक्षीको बयान नै मिल्दैन ।

पाण्डे पक्षले उच्च अदालत र सर्वोच्च अदालतमा थुनछेक आदेश बदर गराउन पुनरावेदन गरेका थिए । थुनछेक आदेश बदर नभए पछि २०७६ साल भाद्र १ गते शुद्धोदन ३ असुरैना बस्ने घनश्याम यादवलाई साक्षीको रूपमा पेस गरेका थिए । यादवले आफू मल खाद लिनको लागी पाण्डेको घरमा आएको र जोख्ने मानिस नहुँदा ७ः३० बजे देखि ८ः३० सम्म उनीहरू संगरहेको बयान दिएका थिए ।

        तर पक्राउ परेका अमित कुमार पाण्डे र रामकृष्ण पाण्डेले प्रहरी समक्ष दिएको बयान र उनका साक्षीले दिएको बयानमा मेल खाँदैन । दुवै भाईले मासु र पिठोको लिट्टोको परिकार  बनाएर खान लागेको प्रहरी समक्ष बयान दिएका थिए । दुवै जनाले घनश्याम यादवको विषयमा केही बोलेका छैनन् । मृतकका काका राम रुची चौधरीले नक्कली साक्षी खडा गरी घटनालाई तोडमोड गरेको  आरोप लगाउनु भयो ।

यस्तो थियो राजाबाबु हत्याकाण्ड :

    कपिलवस्तुको शुद्धोदन गाउँपालिका ४ लवनी चोकमा मेला हेरेर फर्किँदै गरेका राजाबाबुका भाइ जितेन्द्र औषधी र फलफूलको जुस खरिदका लागी मोटर साइकलबाट ओर्लिएका थिए । रमाकान्त पाण्डेका ३ छोरा सहित ६ जनाले जुस किन्न लाग्दा गाली गर्दै गोली हानेर मार्ने धम्की दिएका थिए । धम्की पछि जितेन्द्रले राजाबाबुलाई फोन गरी घटनाको बारेमा बताएका थिए । राजाबाबु आउने थाहा पाएपछि ६ जना २ वटा मोटरसाइकलमा गएका थिए ।

    मोटरसाइकलमा यात्रा गरेका राजाबाबुको लवनी देखि १ किमी दक्षिण सिबलवा जाने पिच बाटोमा ६  राउन्ड गोली हानेर हत्या गरिएको थियो । घटनामा संलग्न रहेको भन्दै मृतकका भाइ जितेन्द्र कुमार चौधरीले रमाकान्त पाण्डे सहित उनका ३ छोरा अमित कुमार पाण्डे, अजित कुमार पाण्डे, रामकृष्ण पाण्डे सहित इवारक धुनिया, दिलीप नाउ, श्याम सुन्दर चाईको नाममा किटानी जाहेरी दिएका थिए । २०७५ साल कार्तिक ७ गते शुक्रवार राती ८ बजे हत्या गरिएको थियो । रमाकान्त पाण्डेलाई आरोपित भगाउन सहयोग गरेको आरोप रहेको छ । पाण्डेका ३ छोराले गोली हानेको , अन्य ३ जनाले समाएको किटानी जाहेरीमा उल्लेख भएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६