बुटवल ४ भदौ । कोरोना सङ्क्रमितको घरमा लगेर ब्यानर टाग्ने, मूल गेटमै तालाबन्दी गरिदिने जस्ता कामवाट अपमानित गरिएका समाचार आइ रहदा बुटवल उपमहानगरपालिकाले भने होम आइशोलेशनमा रहेका संक्रमितको उच्च मनोवलकालागि घरदैलो अभियान चलाएको छ । होम आइसोलेशनमा राखिएका सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुग्नु भएको हो । उहाले सङ्क्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारी सहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट गरेको प्रेसपाटीसंग बताउनु भयो ।
नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गर्नुभएको छ भने बीहिवार १५ स्थानमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले स्पष्ट पार्नु भयो ।
होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउँदा एकदमै खुशी लागेको बुटवल–१०, का एक सङक्रमिताले जानकारी दिए । उनले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बनाउने तर्क गरे । घरदैलोमा प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोली पुगेको थियो ।
बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ । उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।
प्रतिक्रिया