बुटवल ७ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा रहेका आइसीयू बेड लक्षण सहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन । अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी रहेको जनाईएको छ । त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि बेड नभएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले वताउनु भयो ।
१६ जना मध्ये २ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनीहरुको अवस्था ’क्रिटिकल’ रहेको उहाँले वताउनु भयो । उनीहरुमध्ये एकजना रुपन्देहीका र अर्का एकजना कपिलवस्तुका रहेका छन् । आइसीयुमा उपचाररत ६ जनाको अवस्था पनि गम्भीर रहेको छ । ८ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको र बिरामीहरुमा ज्वरो, निमोनिया, रुघाखोकी, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन । अरु २१ जना संक्रमितको जनरल वार्डमा राखेर उपचार गराईएको छ ।
बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरु भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले सम्भव भएसम्म आइसीयू बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने वताउनु भयो । प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयू कक्ष बनाएको छ ।
प्रतिक्रिया