बाँके ७ भदौ । बाँकेमा तीन दिनयता १ सय जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार एक उपसचिवसहित २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार २८ जना, शुक्रबार ५१ जना र आज २१ जना गरी तीन दिन यतामात्र एक सय जना निको भएर घर फर्किएका हुन । योसँगै बाँकेमा कोरोनाबाट निको हुनेको कुल संख्या ५ सय ६८ पुगेको छ । अब बाँकेमा २ सय ३५ जना मात्र सक्रिय संक्रमित रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । अहिलेसम्म बाँकेमा ८ सय ७ जनामा कोरोना पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।
यता देशभर कोरोना संक्रमण दर बढिरहँदा गुल्मीमा पनि कोरोना परीक्षणको तयारी तीव्र पारिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत साउन ३ गते रेसुंगा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गर्नु भएको थियो । सो मेसिनलाई संचालनमा ल्याउने तयारी गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।
सदरमुकाम तम्घासमा रहेको महिला विकास भवनमा कोरोना परीक्षण ल्याब संचालनका लागि तयारीलाई तीव्र पारिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली आई अहिले अध्ययन गरेकाले जतिसक्दो छिटो ल्याब संचालनमा ल्याउने शर्माले वताउनु भयो । ल्याब व्यवस्थापन कार्य र उपकरणहरु परीक्षण कार्य भइरहेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले वताउनु भयो ।
यस्तै दाङका दुई पालिका कोरोना संक्रमण मुक्त भएका छन् । सुरुका दिनमा तिब्र कोरोना संक्रमित देखिएको बंगलाचुली गाउँँपालिका अहिले भने कोरोना संक्रमण मुक्त भएको छ । पालिकामा १६० जना संक्रमित देखिएका थिए । जसमा १६० जना नै निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम संक्रमित देखिएको दंगीशरण गाउँपालिकामा पनि कोरोना मुक्त भएको छ ।
जसमा अहिलेसम्म ५ जना संक्रमित देखिएकोमा सबै जना निको भएर घर फर्किसकेका छन् । यि दुई पालिका संक्रमण मुक्त भएपनि ८ पालिकामा भने अहिले पनि संक्रमित देखिने क्रम रोकिएको छैन । सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा संक्रय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया