रामपुर ८ भदौ ।कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।
कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पिसिआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले वताउनु भयो । मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पिसिआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले वताउनु भयो । जिल्लामा पिसिआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । यता गुल्मीका स्थानीय तहहरुले भिटिएम खरिद गरी समुदाय स्तरमा नै कोरोना परीक्षण गरेका छन ।
मालिका गाउँपालिकाले २५० जनाको परीक्षण गर्ने र वडा नम्बर ६ अर्जेबाट स्वाब संकलन गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो । यस्तै, कालीगण्डकी गाउँपालिकामा ४७, चन्द्रकोटमा ४७, धुर्कोटमा १५, ईश्माामा पाँच र मुसिकोट नगरपालिकामा १२५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिनुभयो ।
रेसुङगा नगरपालिकाका ६५, गुल्मीदरवारका १०, छत्रकोटका १०, रुरुक्षेत्रका १०, सत्यवती गाउँपालिकाका १० जनामा गरीएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । गुल्मी जिल्लामा हालसम्म ३७३ जना कोरोना संक्रमितमध्ये ३६५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भइसकेको छ ।
यता समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब सङ्कलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया