भदौं १०, वीरगञ्ज । भारतीय बन्दरगाहमा करीब
पाँच महीना रोकिएको युरिया मल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको छ ।
अघिल्लो हप्ता कोलकाता बन्दरगाहमा अनलोड भएकोमध्ये २ हजार ६०० मेट्रिकटन
(५२ हजार बोरा) मल बुधवार वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको हो ।
कोलकातामा साल्ट ट्रेडिङ कर्पोरेशनको ३२
हजार मेट्रिकटन मल आएको छ । यसमा अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को २१ हजार
५०० र यो वर्ष २०७७/ ७८ को १० हजार ५०० मेट्रिकटन रहेको साल्ट ट्रेडिङले
बताएको छ ।
सुक्खा बन्दरगाहमा आइपुगेको युरिया मल
भन्सार जाँचापास भएर भित्रिएपछि किसानलाई उपलब्ध गराइने साल्ट ट्रेडिङ
कर्पोरेशन क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले जानकारी
दिए ।
‘मल भित्रिन शुरू भइसकेकाले कोलकातामा
आइपुगेको सबै मल अबको केही दिनभित्रै भित्रिइसक्छ, त्यसपछि आपर्ति सहज
हुन्छ,’ प्रमुख लामिछानेले
भने । साल्ट ट्रेडिङको उक्त
कार्यालयले १९ ओटा जिल्लामा मल आपूर्ति गर्दछ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका
कोलकातास्थित कार्यालय प्रमुख लक्ष्मण खड्काका अनुसार कोलकाताबाट रेलमार्फत
वीरगञ्ज बन्दरगाहका लागि २६ मेट्रिकटन युरिया हिड्नुअघि सकडमार्गबाट पनि ३
हजार ९०० मेट्रिकटन मल गइसकेको छ । सडकमार्गबाट गएको यो मलमध्ये केही
विराटनगर नाकाबाट भित्रिइसकेको छ ।
अरू परिमाण पनि भित्रिने क्रममा रहेको साल्ट
ट्रेडिङले बताएको छ । साल्ट ट्रेडिङको विराटनगर कार्यालयले पूर्वी
क्षेत्रका किसानलाई मल उपलब्ध गराउँछ । थप २ हजार ६०० मेटिकटन युरिया बोकेर
बुधवार कोलकाताबाट वीरगञ्जका लागि रेल हिँडेको जानकारी खड्काले दिए ।
मल आपूर्तिको जिम्मा लिएका साल्ट ट्रेडिङ र
कृषि सामग्री कम्पनीले समयमा मल भित्र्याउन नसक्दा रोपाईंको बेला मलको
हाहाकार भएको थियो । अहिले धान गोड्ने बेला भएकाले फेरि मलको माग बढेको छ
।
कृषि सामग्री कम्पनीबाट ५० हजार मेट्रिकटन
मल आपर्तिको ठेक्का लिएका कम्पनीले भने मल कहिले भित्र्याउने भन्ने अझै
टुंगो छैन । साल्ट ट्रेडिङको मल आपूर्तिकर्ता मल्टी कमोडिटी ट्रेडिङले
कोलकाता ल्याउनुपर्ने मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा
पुर्याएपछि आपूर्तिमा ढिलाई भएको हो । चैतको अन्तिम साता कान्डला पुगेको
मल त्यहीँ अड्किएको थियो ।
नेपाल–भारत पारवहन सन्धिअनुसार नेपालले
कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहमात्र उपयोग गर्न पाउने भएकाले
कान्डलामा मल रोकिएको हो । कान्डलाबाट मल ल्याउने प्रयास असफल भएपछि पानी
जहाजमा कोलकाता ल्याइएको थियो ।
ओपन कार्गोको रुपमा आएको मल कोलकातामा
ब्यागिड गरेर नेपाल भित्र्याइको हो । कोलकातामा ठूला पानी जहाज आउन नसक्ने
भएकाले सागरद्वीपबाट बर्ज जहाजमा लोड गरेर बन्दरगाहमा पुर्याइएको थियो ।
आर्थिक अभियानबाट साभार
प्रतिक्रिया