कपिलवस्तु, १५ भाद्र । टाटीले वारेका झुपडी, त्यसैमा ठुला ठुला भ्वाङ परेको छ । जेन तेन अडिएका भित्ता छन् । घरभित्रबाट माथि चियाउँदा आकाशको छानो देखिन्छ । छेउमा रहेको चुल्हो वरपर खाली डिब्बाहरू पल्टिएका छन् । चुल्होमा धिपधिप बलिरहेको आगो माथि कालो कराई मा घिरौँलाको तरकारी पाकिरहेको छ , छेउमा देप्ची भरी भात पाकेको छ । पाक्न लागेको आहारा कुर्दै ७ दिने सुत्केरी आमा पलङमा सुतेर पर्खिएकी छिन् । बिहानै देखी उनलाई भोकले सताइ रहेको थियो ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ३ का २५ बर्षिया बास्मती थारु सुत्केरी अवस्थामा निस्तै खाना खानु परेको छ । पोषक युक्त खाना खानु पर्ने बेलामा भात र घिरौँलाको तरकारीको भरमा बस्न परेको छ । धन्न घरमा फलेको घिरौँलाले साथ दिएको छ । नत्र चामल बाहेक केही पनि हुने थिएन । पूर्व पश्चिम राजमार्ग बुड्ढी चोकबाट करिब ४ किलोमिटर उत्तर पुगेपछि दुबिया गाउँ सुरु हुन्छ । करिब ३ सय मिटर उत्तर पूर्व लागेपछि खेतको माझमा एउटा सानो थारु बस्ती छ । बस्तीमा अधिकांश परिवार खेती र मजदुरी गरी जीविकोपार्जन गरिरहेका छन् । उक्त बस्तीको एउटा परिवारको अवस्था देख्दा जोकोहीको मन थामिँदैन । दुखले मितेरी गाँसेको परिवारलाई खुसीले भने पानी बाराबार जस्तै गरेको छ ।
“आफू त हिजो अभावमा भोकलाई दैनिकी जस्तै बनाएर बाच्यौ । आज सन्तानको आगमन हुँदा समेत खुसीले श्रीमतीलाई एक छाक मीठो खुवाउन सकेको छैन ’’ बास्मतीका पती निरही थारुले लामो सास फेर्दै भने ‘ आँखाको आँसु सङै आकाशको पानी घोलिन्छ छानो गतिलो नहुँदा । रोएर आसुको कमाई हुन्थ्यो भने सायद धनाढ्य परिवारको सान हुन्थ्यो आज । ’’
६ महिना देखी बेरोजगार ।
३६ वर्षीय निरहीको आम्दानीको स्रोत गुमेको ६ महिना पुग्न लागेछ । इट्टा भट्टामा काम गर्दै पारिवारिक जिम्मेवारी सम्हाल्दै आएका थारुले बिहान साँझ हातमुख जोर्न समेत धौ धौ भएको बताउँछन् । प्रत्येक गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य राम्रो हुन् पोषणयुक्त खाना र परिवारको स्नेह आवश्यक हुनुपर्छ । तर निरहीकी श्रीमती सुत्केरी भएको ७ औँ दिनसम्म घिरौँला र सुख्खा भात मै पोषण खोजिरहेकी छन् । पोषणयुक्त खान न त घरमा खानेकुरा नै छ , न त गोजीमा दाम नै ।
चुहिने छानो मुनी बसेको यो परिवारमा आम्दानीको एक मात्रै स्रोत मजदुरी हो । त्यही पनि चैत्र ११ गतेबाट लकडाउन जारी भएपछि गुम्यो । निरही भन्छन् ‘केही दिन अघि अर्काको खेतमा काम गर्न गएको थिए, त्यहीबाट ल्याएको ५ सय रुपैयाँले अहिलेसम्म चामल किनेको छु, प्रसूति गर्न लैजाँदा छिमेकी संग १ हजार सापटी मागेको छु । कहिले तिरेर सक्ने हो खै ।’
प्रेसपाटी संग कुराकानी गर्दै बास्मती भन्छिन् ‘राम्रो लाउने मिठो खाने रहर कसलाई हुँदैन र ? गरिबको नसिबमा यी सबै नहुने रैछ । ’ लकडाउन पछि मजदुरी गरी जीविकोपार्जन गर्ने गरिब, विपन्न परिवारलाई राहत प्याकेज दिने घोषणा पछि वडाले घरमै राहत पुर्यायो तर त्यस पछि कता हरायो थाहा भएन । ३ हप्ता पछि राहतमा पाएको खानेकुरा पनि सकियो । मजदुरी गरेर कमाएको पैसा घर व्यवहार चलाउँदै सकिन्थ्यो । अहिले कतै पनि काम पाइँदैन ।’








प्रतिक्रिया